२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्छौँ : प्रशिक्षक श्रेष्ठ

नेपाली यु-१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले भुटानमा हुने साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्।

साफ महिला यु-१७ च्याम्पियनसिप अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ। चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ। आइतबार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि प्रभावकारी तयारी गरिरहेको र खेलाडीले पनि धेरै मेहनत गरेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। खेलाडीको कमजोर पक्षहरू केलाउँदै त्यसमा काम गरेको उल्लेख गर्दै उनले हेटौडामा लामो क्याम्पमा राखेर तयारी गरेको र खेलाडीले पनि मेहनत गरेकाले यसपल्ट सुखद नतिजा आउने विश्वास व्यक्त गरेका हुन्।

च्याम्पियनसिप आर्टिफिसियल टर्फमा हुने भएकाले नेपाली टोलीले पनि टर्फमा नै आफ्नो तयारी गरेको प्रशिक्षक श्रेष्ठले उल्लेख गरेका छन्। यस च्याम्पियनसिपका प्रतिस्पर्धी राष्ट्र भुटान, भारत र बंगलादेश धेरै राम्रो रहेको उनले उल्लेख गरे। साथै आफूहरूले पनि उनीहरूलाई पराजित गर्ने उद्देश्यसहित खेल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ। उनले डिफेन्समा देखिएको कमजोर पक्ष सुधार भएको अपेक्षा गरेका छन्। अन्य केही कमजोर पक्षहरू पनि सुधार गरेकाले च्याम्पियन बन्छौं भन्ने विश्वास रहेको उनी बताउँछन्। साथै उनले अग्रता लिँदा र गोलले पछाडि पर्दा कसरी खेल्ने भन्ने बारे पनि तयारी गरेको उल्लेख गरेका छन्।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिम धेरै राम्रो रहेको र प्रशिक्षकहरूले सिकाएका कुरामा खेलाडीले पनि धेरै मेहनत गरेकाले सुखद नतिजा आउने विश्वास व्यक्त गरिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रम आयोजना गर्दै भुटान जाने नेपाली टोलीको बिदाइ गरेको थियो। टोली सोमबार भुटान जाँदै छ। यस च्याम्पियनसिपमा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन्। सबैले एकअर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। एन्फाले यसअघि नै २३ सदस्यीय टोली सार्वजनिक गरिसकेको छ।

प्रकाशित: १ भाद्र २०८२ २०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App