नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी ट्वान्टी विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताए।
आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा टी ट्वान्टी विश्वकप आयोजना हुँदै छ। सोही विश्वकपको तयारीका लागि नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गर्दैछ। त्यहाँ नेपाली टोलीले श्रीलंका ‘ए’ सँग तीनवटा टी ट्वान्टी खेल खेल्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलंका ‘ए’ को टोली राम्रो हुने श्रीलंका क्रिकेटले आश्वासन दिएको बताए। विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलंकामा गरेर कुल १२ दिनको तयारी गर्नेछ। नेपाली टोलीका कप्तान रोहितले यो तयारी पर्याप्त र राम्रो हुने भएकाले यसपल्टको विश्वकपमा देशले गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका हुन्।
उनले नेपाल प्रिमियर लिग (एनपिएल) पछि केही दिन विश्राम लिए पनि तयारी सुखद रहेको उल्लेख गरे। तेस्रोपल्ट विश्वकप खेल्न आफ्नो टोली उत्साहित रहेको बताए। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो विश्वकपमा ब्याटिङका लागि पिच सहज नहुँदा रन बनाउन सबैलाई कठिन भएको रोहितले उल्लेख गरे। यद्यपि, वाङ्खडेमा ‘हाइ स्कोरिङ’ पिच भएकाले ब्याटरहरूलाई सहज हुने उनको भनाइ छ।
त्यही अनुसार तयारी गरेको उनी बताउँछन्। यो पिचका लागि बलरले पनि राम्रो तयारी गर्नुपर्ने उनले उल्लेख गरे। नेपाली टोलीले चारै खेल वाङ्खडेमा खेल्ने तालिका छ। विश्वकपअगाडि नेपाली टोलीले दुई अभ्यास खेल वाङ्खडेभन्दा एक किलोमिटर मात्र टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियममा (क्रिकेट क्लब अफ इन्डिया) खेल्नेछ।
यो अभ्यास खेलले वाङ्खडेको कन्डिसनमा भिज्न नेपाली टोलीलाई मद्दत पुर्याउनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलंकामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकप लक्षित भूमिकामा तयार बनाउने बताए।
विश्वकप खेल्नु खेलाडीसँगै प्रशिक्षक र म्यानेजमेन्टका लागि पनि गर्वको क्षण रहेको उल्लेख गर्दै उनले नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गरेका छन्। उनले पछिल्ला तीन हप्तादेखि विश्वकपका लागि तयारी पनि गरेको उल्लेख गरे। क्यानले शनिबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले नेपाली टोलीको बिदाइ गरेका थिए।
सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी ट्वान्टी शृंखला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पनि हस्तान्तरण गरे। आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपैयाँ दिने उनले बताएका छन्।
डा. शर्माले नेपाली राष्ट्रिय महिला र पुरुष टोलीका खेलाडी र परिवारलाई निशुल्क उपचार गराउँदै आएको उल्लेख गर्दै यो सम्झौता सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल सरकारसमक्ष खेलाडी जीवनबाट अवकाशपछि उनीहरूलाई पेन्सन दिन माग राखेका छन्। चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग खेल्न नपाए पनि लगातार भइरहेको व्यस्तताले नेपाली टोलीको तयारी राम्रो भएको बताए।
उनले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोली सुपर आठमा पुग्ने आशा व्यक्त गरे। यसपल्ट नेपाली टोलीले देशलाई गर्व गर्न लायक बनाउने उनको विश्वास छ।
क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियालिरहेको बताए। नेपाली क्रिकेट खेलाडी सबैका आदर्श पात्र रहेकाले विश्वकपका खेलले मात्र नभई त्यहाँ खेलाडीले गर्ने सबै गतिविधिले प्रभाव पार्ने भएकाले अनुशासित हुन पारसले सुझाव दिए। उनले विश्वकपपछि पनि एउटा टेस्ट राष्ट्रसँग खेल्नका लागि प्रक्रिया चलिरहेको बताए।
वेस्ट इन्डिजसँगको जितपछि नेपाली टोलीमा उत्साह बढेकाले पनि टेस्ट राष्ट्रसँग शृंखला आयोजना गर्न लागिएको उनको भनाइ छ। उनले नतिजा आफूअनुकूल नभए पनि यो विश्वकप एउटा ठूलो अवसर पनि रहेको बताए।
पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो। दोस्रोपल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ। यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यस समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेश छन्। वेस्ट इन्डिज र इङ्ल्यान्ड दुई पल्टका विश्वकप विजेता हुन्।
प्रकाशित: ४ माघ २०८२ ०७:५३ आइतबार





