ललितपुर महानगरपालिका वडा-८ का विपुल महर्जन र वडा-१७ की अर्सना महर्जन सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन भएका छन्।
स्थानीय राष्ट्रिय खेलाडी सहभागी हुन पाउने खुला सिंगल्सको पुरुषमा विपुल र महिलामा अर्सना पहिलो भएका हुन्। ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा-६ को हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विपुलले वडा–७ का डिकेन महर्जनलाई १४–१२, ११–६, २–११, ७–११ र १२–१० को सेटमा पराजित गरे।
वडा–१९ का कुशल न्याछो र वडा–१२ का सुनिल महर्जन तेस्रो भए। महिलाको फाइनलमा अर्सनाले वडा २० की पमिला जोशीलाई ११–८, ११–७, ७–११ र ११–४ को सेटमा हराइन्। वडा–८ की सुरम्य शाक्य र वडा १६ की साइरा शाक्य तेस्रो भए।
स्थानीय जनप्रतिनिधितर्पm पुरुष सिंगल्सको फाइनलमा वडा ११ का जुबन तण्डुकारले वडा–२० का अमर डंगोललाई ९–११, ११–८, ११–८ र ११–७ ले हराउँदै स्वर्ण जिते।
वडा–११ का कृष्ण महर्जन र वडा–२० का सैलेन्द्र शाक्य तेस्रो भए। यो स्पर्धा पहिलोपटक थपिएको हो। यस प्रतियोगितामा वडा–६ का संस्कार रत्न वज्राचार्य, वडा–१९ का सइसिब डंगोल, वडा ११ का रेजिन शाक्य, वडा–९ का यारा महर्जन, वडा–१९ का सचेत श्रेष्ठ, वडा–८ का योक्ती कर्माचार्य र वडा–२० का रुजल महर्जन उदीयमान खेलाडी घोषित भए।
कुल १७ स्पर्धा समावेश रात्रीकालीन प्रतियोगितामा वडा–१६ सर्वाधिक पाँच स्वर्णसहित टिम च्याम्पियन बन्यो। प्रतियोगिताको अर्को संस्करण वडा–२१ ले आयोजना गर्ने भएको छ। १७ वटै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि चार लाख २५ हजार रुपैयाँ रहेको छ।
विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य वज्राचार्य, आयोजक वडा–६ का अध्यक्ष रूपेन्द्रराज शाक्य लगायतले पुरस्कृत गरेका थिए।
साताव्यापी प्रतियोगितामा ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २१ वडाबाट ६ सय १६ खेलाडीले सहभागिता जनाएको प्राविधिक प्रमुख निकेश जोशीले जनाएका छन्।
प्रकाशित: २७ पुस २०८२ ०८:५१ आइतबार





