३० श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

बेलायती स्टार हडकिन्सनलाई पछार्दै वेर्गोको ऐतिहासिक स्वर्ण

बेलायतकी ओलम्पिक च्याम्पियन केली हडकिन्सनले युरोपियन एथलेटिक्स च्याम्पियनसिपको महिला ८०० मिटरमा रजत पदकमै चित्त बुझाउनुपरेको छ। स्विट्जरल्यान्डकी २२ वर्षीया अड्री वेर्गोले रोमाञ्चक फाइनलमा हडकिन्सनलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

बर्मिङ्घमस्थित अलेक्जेन्डर स्टेडियममा २३ हजार दर्शकमाझ भएको फाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो। प्रतियोगिताको सर्वाधिक प्रतीक्षित दौडमा हडकिन्सन, वेर्गो र नेदरल्यान्ड्सकी फेम्के बोल्डर-बोलबीच स्वर्णका लागि कडा प्रतिस्पर्धा भएको थियो।

घरेलु समर्थकको जबर्जस्त साथ पाएकी हडकिन्सनले अन्तिम चरणमा वेर्गोलाई उछिन्ने प्रयास गरे पनि सफल हुन सकिनन्। वेर्गोले अन्तिम समयमा आफ्नो गति अझ तीव्र बनाउँदै १ मिनेट ५४.८१ सेकेन्डमा दौड पूरा गरिन्।

उनले च्याम्पियनसिपको नयाँ कीर्तिमानसहित पहिलो सिनियर अन्तर्राष्ट्रिय स्वर्ण जितिन्। हडकिन्सनले १ मिनेट ५५.०१ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक हात पारिन्। यसअघि लगातार दुई संस्करणमा ८०० मिटरको युरोपियन च्याम्पियन बनेकी हडकिन्सन यसपटक भने लगातार तेस्रो उपाधि जित्दै ‘ह्याट्रिक’ गर्न बाट चुकिन्।

 

प्रकाशित: ३० श्रावण २०८३ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App