नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवालले आफूहरू गगन थापाको नेतृत्वमा नयाँ युगको कांग्रेस निर्माण गर्ने यात्रामा अघि बढेको बताएकी छन्।
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा नेताहरूको सम्बोधन सुनेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेकी हुन्। अध्यक्ष कटुवालले पाका नेताहरूको सम्बोधनपछि नेतृत्वका बारेमा नयाँ अनुभूति भएको उल्लेख गरेकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज (शुक्रबार) नेपाली कांग्रेसका अग्रज नेताहरूको सम्बोधन सुनेपछि एउटा कुरा अझ गहिरो गरी महसुस भयो। नेतृत्व पदले होइन, विचार, दृष्टि र साहसले स्थापित हुन्छ।’
उनले सभापति गगन थापाको प्रशंसा गर्दै थप लेखेकी छन्, ‘आदरणीय सभापति गगन थापा, तपाईंप्रतिको सम्मान आज झन् उचाइमा पुगेको छ। कठिन समयमा पनि लोकतन्त्र, रूपान्तरण र पुस्तान्तरणको बाटोमा दृढतापूर्वक उभिएको नेतृत्वसँग हामी छौँ भन्न पाउनु आफैँमा गर्वको विषय हो।’
अध्यक्ष कटुवालले आफूहरू थापाको नेतृत्वमा नयाँ युगको कांग्रेस निर्माण गर्ने यात्रामा अघि बढेको उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘नेपाली कांग्रेस गगन थापाको नेतृत्वमा छ भन्ने मात्र होइन, नयाँ युगको कांग्रेस निर्माण गर्ने यात्रामा हामी गगन थापाको नेतृत्वसँगै छौँ भन्नेमा गर्व छ।’
कांग्रेसको विशेष महाधिवेशनमार्फत गगन थापा सर्वसम्मत सभापति निर्वाचित भएका हुन्, जसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको संयुक्त इजलासले सदर गरिसकेको छ। तर, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षीय समूह भने विशेष महाधिवेशन अवैधानिक रहेको दाबी गर्दै पूर्णतः असन्तुष्ट देखिन्छ।
राष्ट्रिय भेलामा समेत नेताहरूले सभापति थापाले विधान मिचेको भन्दै तीव्र आक्रोश व्यक्त गरे। हालै सर्वोच्च अदालतको पूर्ण इजलासले यस मुद्दामा पुनरावलोकनको अनुमति दिएपछि विवाद पुनः अदालतमा बल्झिएको छ, र दुवै पक्ष सर्वोच्चको अन्तिम फैसलाको पर्खाइमा छन्।
प्रकाशित: ३० श्रावण २०८३ ०७:२५ शनिबार



-600x400.jpg)

