अमेरिकन टेनिस प्लेयर भेनस विलिएम्सको युएस ओपनको यात्रा सकिएको छ । आज बिहान भएको महिला डबल्सको खेलमा शीर्ष वरीयाताका टेलोर टाउनसेन्ड र कट्रिना सिनिआकोभासँग सोझो सेटमा पराजित भएसँगै उनी र लेलाह फर्नान्डेजको युएस ओपनको यात्रा सकिएको हो । उनीहरू ६-१ र ६-२ को सोझो सेटमा ५७ मिनेटमै पराजित भए ।
४५ वर्षीया विलिएम्स र २२ वर्षीया फर्नान्डेजले अघिल्लो चरणमा दोस्रो वरीयताप्राप्त जोडीलाई हराएका थिए । विलिएम्सले यो वर्ष महिला एकलतर्फ पनि प्रतिस्पर्धा गरेकी थिइन् तर पहिलो चरणमै हार भोगेकी थिइन् ।
डबल्सको खेलपछि टाउनसेन्डले भनिन्, “भेनस र सेरेना विलिएम्सलाई देखेरै हामी खेल्न प्रेरित भएका थियौं। उनको विरुद्ध खेल्न पाउनु गर्वको कुरा हो।”
त्यस्तै सिनिआकोभाले विलिएम्स दिदीबहिनीसँग कोर्टमा प्रतिस्पर्धा गर्नु नै आफूहरूका लागि विशेष हुने प्रतिक्रिया दिइन् । भेनस र सेरेनाले ग्राण्डस्लाम टेनिसकाे डवल्सतर्फ १४ वटा उपाधि जितेका थिए ।
भेनसको सम्मानमा सबै दर्शकले उठेर ताली बजाएका थिए । उक्त सम्मानप्रति आभार व्यक्त गर्दै भेनसले टेनिस आफ्नालागि सबैभन्दा महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिइन् ।
प्रकाशित: १८ भाद्र २०८२ १२:२९ बुधबार





