१५ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

खेलकुद पाठ्यक्रम विकासका लागि समझदारी

नेपालमा विद्यालयस्तरीय खेलकुद तथा शारीरिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र काठमाडौं विश्वविद्यालय शिक्षा संकायबीच खेलकुद पाठ्यक्रम विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे। सो अवसरमा एनएसएसएफका महासचिवसमेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की लगायतको उपस्थिति रहेको थियो।

यस समझदारीपत्रले संरक्षित, प्रमाणमा आधारित र राष्ट्रिय आवश्यकता अनुसारको खेलकुद पाठ्यक्रम विकासमा एनएसएसएफको स्पष्ट प्रतिबद्धता र नेतृत्वलाई उजागर गरेको छ। यस सहकार्यबाट विद्यालय खेलकुद, शारीरिक शिक्षा तथा बालबालिकाको समग्र विकासलाई सुदृढ बनाउने अपेक्षा गरिएएको छ।

समझदारीमा पाठ्यक्रमका आवश्यकताहरू पहिचान गर्ने, प्राथमिकता क्षेत्र निर्धारण गर्ने, विद्यालय तथा सरोकारवालासँग पहुँच सहज बनाउने र विकास गरिएका पाठ्यक्रमहरूको कार्यान्वयन तथा पाइलट परीक्षणको समन्वय गर्न प्रमुख भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको छ। साथै, महासंघले राष्ट्रिय विद्यालय खेलकुद अभ्यासमा आधारित प्राविधिक सुझाव प्रदान गर्ने र स्वीकृत पाठ्यक्रमहरूलाई आफ्नो सञ्जाल मार्फत प्रवद्र्धन तथा प्रसार गर्नेछ। यो सहकार्यअन्तर्गत खेलकुदका प्रमुख क्षेत्रमा पाठ्यक्रम विकास गरिनेछ।  

विद्यालय खेलकुद तथा शारीरिक शिक्षा, खेल विज्ञान र कोचिङका आधारभूत पक्ष, विद्यालय तहको खेल व्यवस्थापन तथा नेतृत्व, खेलकुदमार्फत बाल विकास, स्वास्थ्य, फिटनेस तथा समग्र कल्याण शिक्षामा काठमाडौं विश्वविद्यालय शिक्षा संकायले शैक्षिक तथा प्राविधिक विज्ञता उपलब्ध गराउने, अनुसन्धानमा आधारित सामग्री विकास गर्ने, शैक्षिक गुणस्तर सुनिश्चित गर्ने तथा राष्ट्रिय शिक्षा संरचना र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससँग पाठ्यक्रमलाई समन्वय गर्न सहयोग गर्नेछ।

समझदारीपत्रमा शिक्षक, प्रशिक्षक तथा कोचहरूको क्षमता अभिवृद्धि कार्यक्रम, शैक्षिक परामर्श, विज्ञ समीक्षा, अनुसन्धान, मूल्यांकन तथा खेलकुद शिक्षासम्बन्धी प्रभाव मूल्यांकनसमेत समावेश गरिने उल्लेख गरिएको छ।

समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै संस्थाका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ, जसले योजना, कार्यान्वयन, अनुगमन तथा समीक्षा गर्नेछ।

यस अवसरमा अध्यक्ष विनोद श्रेष्ठले विद्यालय खेलकुदलाई दिगो, गुणस्तरीय र परिणाममुखी बनाउन पाठ्यक्रम विकास नै आधारशिला भएको उल्लेख गर्दै यस सहकार्यले नेपालमा खेलकुद शिक्षाको दीर्घकालीन सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

पाँच वर्षे अवधिका लागि मान्य रहने यो समझदारीपत्रलाई संस्थागत सहकार्य, शैक्षिक उत्कृष्टता र राष्ट्रिय प्राथमिकता अनुसारको खेलकुद शिक्षा विकासतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रकाशित: ८ माघ २०८२ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App