११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

अल्ट्रा धावक सुनमाया सम्मानित

नेपाल एडभेन्चर रनिङ महासंघले नेपाली अल्ट्रा धावक सुनमाया बुढालाई नगदसहित सम्मान गरेको छ।

महासंघले आइतबार सादोबाटोस्थित महासंघको केन्द्रीय कार्यालयमा सुनमायालाई ५० हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गर्‍यो। सुनमायाले केही समयअघि स्पेनमा भएको वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन्। उनले महिला लङ डिस्ट्यान्सको ८२ किलोमिटर दूरीमा रजत जितेकी हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकार्यकारी समितिका सदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले सुनमायालाई नगद र प्रशंसापत्र प्रदान गरेका थिए। अध्यक्ष कुँवरले विश्वमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झन्डा फहराउन सफल सुनमायालाई प्रोत्साहनस्वरूप सहयोग गरेको उल्लेख गर्दै नियम अनुसार सरकारले गर्ने सम्मानका लागि पहल भइरहेको बताए।

सुनमायाले महासंघबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै यस खालको सम्मानले खेलाडीहरूलाई प्रेरित गर्ने बताइन्। सुनमायाले जितेको पदक नेपालबाट कुनै पनि खेलाडीले वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा जितेको पहिलो पटक भएको महासंघले जनाएको छ।

च्याम्पियनसिपमा सुनमायासँगै नेपालबाट सुमन कुलुङ राई, मनकुमार मगर र साङ्गे शेर्पाले पनि सहभागिता जनाएका थिए। सुनमायाले यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने अल्ट्रा ट्रेल १०० किलोमिटर दूरीको रेसमा पनि प्रतिस्पर्धा गर्दै छिन्। उनी आइतबारै त्यसतर्फ प्रस्थान गर्नेछिन्। महासंघले सुनमायालाई उक्त रेसमा पनि उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना दिएको छ।

प्रकाशित: १ मंसिर २०८२ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App