इण्डियन प्रिमियर लिग (आइपिएल) को १९ औं संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच अरुण जेट्ली स्टेडियममा हुनेछ।
मुम्बई इन्डियन्सले व्यक्तिगत कारणले पहिलो खेल गुमाएका मिचेल सान्टनरलाई आज अल्लाह गजनफरको स्थानमा खेलाउन सक्ने बताएको छ। यी दुई टोलीबिच भएका ३७ खेलमध्ये मुम्बईले २१ र दिल्लीले १६ खेल जितेका छन्। दिल्लीको घरेलु मैदानमा भने १३ खेलमध्ये ७ खेलमा दिल्ली र ६ खेलमा मुम्बई विजयी भएका छन्। दुवै टोलीले यस सिजनको सुरुवात जितका साथ गरेका छन्।
आजै हुने दोस्रो खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन्। यो खेल साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ। राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो भने गुजरात पञ्जाब किंग्ससँग हारेको थियो।
यी दुई टोलीबिच भएका ८ खेलमध्ये गुजरातले ६ र राजस्थानले २ खेल जितेका छन्। यस खेलमा १५ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको शानदार फर्मका कारण राजस्थान रोयल्स बलियो मानिएको छ। वैभवले पहिलो खेलमा चेन्नईविरुद्ध मात्र १५ बलमा ५० रन बनाएका थिए। तर, यसपटक उनले कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा जस्ता फास्ट बलरहरूको सामना गर्नुपर्नेछ, जसलाई उनको ठूलो परीक्षा मानिएको छ।
प्रकाशित: २१ चैत्र २०८२ ०८:५८ शनिबार




-600x400.jpg)
