प्रेमसागर फाउण्डेसन नेपालद्वारा धादिङ जिल्लाको थाक्रे गापा-५, तसर्पु, दामेचौरमा चैत १४ र १५ गते गरिएको दुई दिवसीय आँखा जाँच शिविरमा १४३ जनामा मोतिविन्दु भेटिएको छ।
शिविरमा जम्मा १ हजार १०१ जना (६९७ जना महिला र ४०४ जना पुरुष) को आँखा जाँच गरिएको थियो, जसमा ४५५ जनालाई चस्मा र ४३८ जनालाई औषधी नि:शुल्क वितरण गरियो भने १४३ जनामा मोतिविन्दु रहेको पहिचान गरी शल्यक्रियाका लागि सिफारिस गरिएको फाउण्डेसनका उपाध्यक्ष डा. प्रेम राज ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार थाक्रे गाउँपालिका र थाहा नगरपालिकाका ९ वडाका ६१ गाउँहरूबाट आएका सेवाग्राहीहरूमा ९२ वर्षसम्म उमेर भएका ३०१ जना जेष्ठ नागरिक र १८ महिनादेखि माथि उमेर भएका २५७ जना बालबालिकाहरू थिए।
खराब मौसम हुँदाहुँदै पनि त्यस भेगका मानिसहरूको ठूलो सहभागिताले त्यहाँ यस्तो शिविर अत्यावश्यक छ भन्ने देखाएको छ भने गाडीबाट २ घण्टामा नै देसको संघीय राजधानी पुग्न सकिने गाउँहरूमा ठूलै संख्यामा मोतिविन्दु भेटिनुले त्यस भेगका मानिसहरूका लागि आँखा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको फाउण्डेसनका महासचिव दुर्गा दत्त घिमिरेले बताए।
शिविरमा संलग्न वरिष्ठ नेत्र विशेषज्ञ डा. दिपक खड्काका अनुसार अहिले बच्चाहरूले मोबाइल र ल्यापटप पहिलाभन्दा बढी हेर्ने भएर होला रिफ्र्याक्सनको समस्या धेरै आएको हुन सक्छ। उमेर पुगेकाहरूलाई मोतिविन्दु धेरै देखिएको छ। चिलाउने र मासु पलाउने समस्याहरू पनि देखिएको छ। उनले ४० वर्ष कटेकाहरूमा सुक्खा आँखा र नजिकको नदेख्ने समस्या रहेको बताए। उनले भने, 'सन् १९८१ को सर्वेमा मोतिविन्दुका कारणले धेरै अन्धोपन थियो। अहिले यसको दर एकदमै घटेको छ तर अझ पनि छ।'
थाक्रे गाउँपालिका-८ का वडा सदस्य राज कुमार गुरूङले सुव्यवस्थित शिविर सञ्चालन गरेकामा धन्यवाद व्यक्त गर्दै भने, 'यस संस्थाले पहिला अरूले आयोजना गरेकोभन्दा फरक ढङ्गले गरेको छ त्यो राम्रो पूर्व तयारी। अरूले जस्तो मिडियामा प्रचार नगरी स्थानीय रूपमा बैठक बसी वडा कार्यालय, स्वास्थ्यकर्मी तथा स्कूल मार्फत घरघरमा निमन्त्रणा दिएको र एक एक जनामा यो कुरा जानकारी हुने ढङ्गले प्रचार गरेको थियो। मैले जति जनासँग कुरा गरेँ उहाँहरू सबैले शिविर तथा डाक्टरहरूको व्यवस्थापन धेरै राम्रो रहो बताउनुभएको छ।'
शिविरमा आँखा जाँच गरेर हातमा चस्मा र औषधी लिएर निस्किएका थाक्रे-५ का ६२ वर्षीय सोमलाल तामाङ खुसी हुँदै भन्छन्, 'सानो अक्षर नदेख्ने समस्य थियो। चस्मा र औषधी दिनुभएको छ। यहाँको व्यवस्था साह्रै राम्रो लाग्यो।' त्यस्तै थाक्रे-५ कै ८५ वर्षीया बिष्णुमाया तामाङ भन्छिन्, 'अलिअलि बादल लागेको छ, अपरेसन गर्नुपर्छ भन्नुभएको छ। औषधी दिनुभएको छ। यहाँको व्यवस्था र व्यवहार साह्रै राम्रो लाग्यो।'
सहभागीहरूको रजिष्ट्रेसनको जिम्मा लिएका स्थानीय स्वयंसेवक रजनी लामा सेवा गर्न पाएको खुसी यसरी व्यक्त गर्छन्, 'हामी यहाँ तीन दिनदेखि सेवामा छौं। यहाँ आउनुभएका सबैजनाको रजिष्ट्रसन गरेका छौं र उहाँहरूको चेक जाँच पनि भएको छ। हाइवे नजिकै भए पनि यो ठाउँ अलि विकट छ। गाउँमा नजिकै स्वास्थ्य चौकी छैन उकालो ओरालो धेरै हिँड्नुपर्छ। यहाँका मानिसहरूका लागि यो राम्रो अवसर हो। स्थानीयहरू निकै खुसी हुनुहुन्छ। यहाँ सेवा गर्न पाउँदा मलाई पनि खुसी लागेको छ।'
थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य तथा थाक्रे ५ का वडाध्यक्षले आँखा जाँच शिविर सञ्चालन गरेर त्यहाँका मानिसहरूलाई सेवा प्रदान गरेकामा फाउण्डेसनप्रति आभार व्यक्त गरे। अधिकांश तामाङ र चेपाङ समुदायका विपन्न मानिसहरू रहेका त्यस क्षेत्रमा यी सेवाहरू नि:शुल्क गरिएको हो।
प्रकाशित: २१ चैत्र २०८२ ०८:४२ शनिबार



-600x400.jpg)

