१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

टाइगर कप भलिवलः न्यू डायमण्डलाई महिलातर्फको उपाधि

पुरुषतर्फ शनिबार फाइनल खेल

टाइगर कपमा महिलातर्फको उपाधि विजेता न्यू डायमन्ड टोली। तस्बिरः नागरिक

न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैठौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव भलिवल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा चलिरहेको प्रतियोगितामा महिलातर्फको शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो।  

न्यू डायमण्डले २५–११, २५–२२ र २५–१६ को सेटमा जित हात पार्दै उपाधि आफ्नो पक्षमा पार्यो। उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्यो। फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो। तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पायो।  

न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन्। उनले २६ हजार ६ सय ६६ रुपैयाँ पाइन्। त्यस्तै सर्भर प्रतिभा माली, लिबेरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागत तर्फ उत्कृष्ट बने। उनीहरुले जनही ११ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पारे।  

पुरुषतर्फ उपाधिका लागि गण्डकी र पर्वत भिड्ने  

पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन्।  

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो। पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलिएको थियो। पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गर्यो। पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो। 

गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्। समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो। त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसिएसन छैठौं भयो।  

गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो हुनेछ। त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ। तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछन। च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए।  

प्रकाशित: १६ माघ २०८२ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App