५ भाद्र २०८२ बिहीबार
image/svg+xml ९:३१ पूर्वाह्न
खेल

तेस्रो ताप्लेजुङ गोल्डकप : दुई विदेशीसहित अनुभवी खेलाडीको प्लेईङ सेट’ तयार गर्दै तेल्लोक क्लब

तेल्लोक स्पोर्टिङ क्लबले दुई विदेशी सहित अनुभवी र राष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराएर साउन २४ गतेबाट हुने तेस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गर्ने भएको छ । 

दुई विदेशी खेलाडी फोफोना इभ्राइम र सोला स्यामुइलसहितका अनुभवी खेलाडीले भरिएको ‘प्लेईङ सेट’तयार गर्दै तेल्लोक स्पोर्टिङ क्लबले प्रतिस्पर्धी अन्य ७ टिममाथि खेलका क्रममा गतिलो दबाब बढाउने नीति लिएको छ । ‘हामी खेलमा उत्साह,अनुभव,मेहनत र कौशलताको फ्युजनबाट उपाधि रक्षाको अभियानमा केन्द्रित हुने छौं’ तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले भने । 

उनले जिल्लाका अनुभवी र खेल कौशलमा निपुण खेलाडीलाई समेत सहभागी गराएर ‘प्लेईङ सेट’को तयारी गरिएको बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई आयोजक लाखे जात्रा सञ्चालन समितिसँगको समन्वयनमा तेल्लोक स्पोर्टिङ क्लबले बन्द प्रशिक्षण गराउन थालेको छ । खेलमा जितको लक्ष्य सहभागी सबैको हुने भएकोले खेलको मर्यादा भित्र रहेर स्वच्छ प्रतिस्पर्धा आफ्नो जिम्मेवारी हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष भट्टराईले बताए । 

साउन २४ बाट ३१ गतेसम्म ताप्लेजुङको फुङलिङस्थित भानुजन माविको खेल मैदानमा हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा भारतको एक सहित ८ टिम सहभागी हुँदैछन् । लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार आयोजकको तर्फबाट सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्ने छ । 

यस्तै चर्च व्वाइज काठमाडौं,साहारा क्लब पोखरा,रेडस्टार फुटबल क्लब झापा,द योङ ब्रर्दश क्लब इटहरी,सलहेश युवा क्लब सिराहा,फिदिम स्र्पोटिङ क्लब पाँचथर र आमन्त्रित फुटबल टोलीको रूपमा भारतको सिलगुढीस्थित लेजण्ड फुटबल एकेडेमी सहभागी हुने निश्चित भएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ । 

प्रतियोगिताका विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार सर्वोत्कृष्ट हुने खेलाडीले यस पटक १ सय ५० सिसीको यमाहा सलुटो मोटरसाइकल प्रदान गरिने भएको छ । भानुजन माविको खेल मैदानमा भएका खेलहरूमा सर्वोत्कृष्ट हुने खेलाडीले पहिलो पटक मोटरसाइकल पुरस्कार पाउन लागेका छन् । सर्वोत्कृष्ट हुने खेलाडीले पाउने मोटरसाइकल पुरस्कारको समन्वय पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले गरिदिएको आयोजक लाखे जात्रा सञ्चालन समितिले जनाएको छ । 

विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता,उत्कृष्ट फरवार्ड,नव उदयीमान खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ७ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार ७ लाख वा सो भन्दा माथि सहयोग उपलब्ध गराउने कम्पनी वा संघसंस्थालाई टाइटल स्पोन्सरमा राखिने भएको छ ।

प्रकाशित: १२ श्रावण २०८२ १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App