उदयपुरमा जारी 'नारदमुनि थुलुङ स्मृति गोल्डकप प्रतियोगिता ०८२' को उपाधि होडमा द योङ ब्रदर्श क्लब सुनसरी पुगेको छ । सोमबारको पहिलो सेमीफाइनल खेलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई २-० गोलले पराजित गर्दै योङ ब्रदर्श फाईनलमा पुगेको हो।
खेल सुरु भएको २२ औ मिनटमै योङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले पहिलो गोल गरेर आफ्नो टिमलाई अघि बढाएका थिए । मध्यान्तरपछिको १ मिनटमै उनकै प्रहारले जाली चुम्दै टिमको पक्षमा २ गोल बनाए ।
खेल अबधिभर न्यू त्रियुगा स्पोर्ट्स सप्तरी गोल गर्न असफल रह्यो । जसले गर्दा योङ ब्रदर्श बेलगाम फाईनलको लायक बन्न पुग्यो । खेलको म्यान अफ द म्याच पनि उनी नै घोषित भए । मङ्गलबार हुने अन्तिम खेल सहलेश युवा क्लब सिराहा र एपिएफ काठमाडौंबीच हुने आयोजक बसाहा क्लबका अध्यक्ष दिनेश राईले बताए ।
११ औ संस्करणको यो गोल्डकप प्रतियोगिता ००७ सालका क्रान्ति नायक नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले वर्षेनी आयोजना गर्दै आएको छ । जिल्लाको पहिलो र सबभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिताको प्रथम पुरस्कार उपाधिसहित नगद ५ लाख र दोस्रो हुने टिमले ३ लाखका साथ ट्रफी र प्रमाणपत्र पाउनेछ ।
त्यसैगरि हरेक खेलका म्यान अफ द म्याच तथा विधागत पुरस्कारतर्फ पनि नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रकाशित: १९ माघ २०८२ १९:४१ सोमबार




