राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पर्यटन प्रवर्द्धनका सन्दर्भमा चितवन सिङ्गो देशकै लागि उदाहरणीय भएको बताएका छन्।
शुक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै उनले चितवनलाई पर्यटन सिकाउनु भनेको लियोनल मेसीलाई फुटबल खेल्न सिकाउनु जस्तै भएको टिप्पणी गरे।
देश दौडाहाका क्रममा एक स्थानीयले चितवनको पनि पर्यटन प्रवर्द्धन गरिदिनुपर्यो भनेर गरेको आग्रहको स्मरण गर्दै नेता शाहले भने, ‘मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ र ? त्यसैगरी चितवनलाई कसैले पर्यटन प्रवर्द्धन सिकाउनु पर्दैन, बरु चितवनले चाहिँ सिङ्गो देशलाई कसरी पर्यटन प्रवर्द्धन गर्ने भनेर सिकाउनुपर्छ।’
सम्बोधनका क्रममा उनले चितवनको थारु समुदाय र उनीहरूले सञ्चालन गरेका होमस्टे तथा रिसोर्टहरूको खुलेर प्रशंसा गरे।
यहाँका स्थानीय उत्पादन, पहिरन, संगीत र खानपानलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिएको शैली देशकै लागि सिकाइको विषय भएको उनको भनाइ थियो।
‘घरमा खाने आफ्नो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजिनको रूपमा जसरी उहाँहरूले प्रस्तुत गर्न सक्नुभएको छ, त्यो पुरै देशले सिक्न जरुरी छ,’ शाहले थपे।
प्रकाशित: १५ फाल्गुन २०८२ १५:३५ शुक्रबार





