फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सोमबार राति स्पेनविरुद्धको बहुप्रतीक्षित ‘इबेरियन डर्बी’ भिडन्त अघि पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले आलोचकहरू जवाफ फर्काएका छन्।
विगत २३ वर्षदेखि मिडिया र आलोचकहरूले आफूलाई समाप्त पार्न खोजेको दाबी गर्दै उनले आफ्नो बचाउ गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले आफू पहिले जस्तो खेलाडी नरहेको स्वीकार गरे।
‘म पहिले जस्तो खेलाडी रहिनँ,’ रोनाल्डोले भने, ‘तपाईंहरूले मलाई विगत २३ वर्षदेखि समाप्त पार्न खोजिरहनुभएको छ, तर त्यो समयको बर्बादी मात्र हो भन्ने देखिसक्नुभयो होला। यो मेरो अन्तिम विश्वकप हुनेछ, तर आशा गरौं सोमबारको खेल मेरो अन्तिम हुने छैन।’
४१ वर्ष पुगिसकेका रोनाल्डोको लय खस्किएको चर्चा चलिरहँदा उनको विश्वकप नकआउट चरणको तथ्याङ्कले पनि यसलाई पुष्टि गर्छ। विश्वकपको नकआउट चरणमा खेलेका ९ खेलमा रोनाल्डोले मात्र १ गोल गरेका छन्, जुन अघिल्लो खेलमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत सम्भव भएको थियो।
आफ्नो खेल जीवनमा विश्वकपको नकआउट चरणमा प्रहार गरेका ३१ सट्समध्ये उनले पेनाल्टीबाहेक एउटा पनि गोल गर्न सकेका छैनन्। उनको प्रहार गोलमा परिणत हुने दर मात्र ३ प्रतिशत छ भने अपेक्षित गोल १.९ रहेको छ। साथै नकआउट चरणमा उनको नाममा कुनै असिस्ट पनि छैन।
जारी विश्वकपमा पनि रोनाल्डोले टोलीका लागि सर्वाधिक ३ गोल गरेपनि अन्य प्रभाव फितलो देखिएको छ। उनले प्रतियोगिताभर १५ पटक पोस्टमा प्रहार गरे पनि आफ्ना सहकर्मीका लागि एउटा पनि गोलको अवसर सिर्जना गर्न सकेका छैनन्। ४ मध्ये ३ खेलमा उनले २५ भन्दा कम पटक मात्र बल छुन पाएका छन्। यो उनको विश्वकप इतिहासकै सबैभन्दा कम औसत हो।
के रोनाल्डोलाई बेन्चमा राख्नुपर्छ ?
पोर्चुगलका लागि १४६ अन्तर्राष्ट्रिय गोल गरिसकेका कीर्तिमानी खेलाडी रोनाल्डोलाई टोलीबाट बाहिर राख्नुपर्ने दबाब प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि बढ्दै गएको छ।
सन् १९६६ को विश्वकप टोलीका सदस्य एन्टोनियो सिमोसले रोनाल्डोको आलोचना गर्दै भनेका छन्, ‘उनी टोलीलाई जिताउन होइन, मैदानमा मुख्य पात्र बन्न खेल्छन्। यो महान खेलाडी युसेबियोको ठीक विपरीत प्रवृत्ति हो।’
तथ्याङ्क अनुसार प्रशिक्षक मार्टिनेजको नेतृत्वमा पोर्चुगलले हासिल गरेका दुई ठूला जित लक्जेम्बर्गविरुद्ध ९–० र आर्मेनियाविरुद्ध ९–१ मा रोनाल्डो टोलीमा सामेल थिएनन्।
क्रोएसियाविरुद्धको खेलमा रोनाल्डो बाहिरिएपछि मैदान छिरेका गोन्सालो रामोसले ९४औँ मिनेटमा निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम १६ मा पुर्याएका थिए। त्यसैले स्पेनविरुद्ध रामोसलाई सुरुवाती–११ मा खेलाउनुपर्ने आवाज बलियो बनेको छ।
मैदान भित्रको प्रदर्शन कमजोर बन्दै गए पनि रोनाल्डोप्रतिको आशक्ति र रोनाल्डो–मेनिया विश्वकपमा अझै उत्कर्षमा छ। टोरोन्टोमा पोर्चुगलको खेलअघि रोनाल्डोको झलक पाउन फ्यानहरूले मुख्य राजमार्ग नै ठप्प पारेका थिए।
प्रकाशित: २२ असार २०८३ २१:३१ सोमबार





