१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

समर्थकका प्रिय ‘जिजु’ को प्रतीक्षा अन्त्य

फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा मंगलबार औपचारिक घोषणा भएपछि जिनेदिन जिदानले दुवै मुठ्ठी कसे र प्रायः शान्त देखिने उनको आवाज पनि केही क्षण भावुक बन्यो।

‘म निकै उत्साहित छु,’ जिजु उपनामले चिनिने ५४ वर्षीय जिदानले भने, ‘फ्रान्सको टोली समाल्नु एउटा सपना हो। फ्रान्ससँग असाधारण खेलाडी छन्, असाधारण टोली छ।’ उनले सन् २०२१ मा रियाल मड्रिड छाडेपछि कुनै पनि टोलीको जिम्मेवारी लिएका थिएनन् तर लामो समयपछि जिदानले अब फ्रान्सको प्रशिक्षण सम्हाल्नेछन्।उनी त्यही टोलीका प्रशिक्षक बनेका छन्, जहाँ उनी खेलाडीका रूपमा विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एक थिए। ऐतिहासिक सफलता पनि फ्रान्सलाई दिलाए। उनले सन् २०२६ को विश्वकपपछि पद त्यागेका डिडिएर डेसच्याम्पको स्थान लिएका हुन्। ‘यो अवसरका लागि पाँच वर्षसम्म प्रतीक्षा गरेको थिएँ। त्यसैले आज अलिकति भावुक छु,’ जिदानले भने, ‘प्रशिक्षकका रूपमा जीवनकै सबैभन्दा खुसीको दिन यही हो।’

सधैं फ्रान्सको समर्थक र भविष्यको प्रशिक्षकका रूपमा उनले सपना देख्थे।‘फ्रान्सको प्रशिक्षक समाल्ने सपना नै थियो।त्यसैले मैले कुनै क्लब सम्हालिनँ।मड्रिडपछि मेरो एउटै लक्ष्य फ्रान्सको प्रशिक्षक बन्ने थियो,’ उनले भने।

फ्रान्स फुटबल महासंघ (एफएफएफ) का अध्यक्ष फिलिप डियालोले पेरिसस्थित महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा जिदानको नियुक्तिको घोषणा गर्दै उनीसँग चार वर्षको सम्झौता गरिएको जानकारी दिए। त्यस अवसरमा डियालोले जिदानको नियुक्तिलाई ‘असाधारण क्षण’ को संज्ञा दिए।जिदान फ्रान्सेली फुटबलका महान् हस्तीमध्ये एक हुन्। मड्रिड छाडेपछि जिदानले विभिन्न क्लबबाट प्रस्ताव पाए पनि सबै अस्वीकार गरेका थिए।

‘पछिल्ला पाँच वर्षमा धेरै क्लबले प्रस्ताव गरे,’ उनले भने, ‘तर मैले सबैलाई अस्वीकार गरेँ। किनभने मेरो लक्ष्य फ्रान्सको टोली मात्रै थियो। मैले गर्न चाहेको एउटै काम यही थियो।’

फ्रान्सको प्रशिक्षक बन्न पाउँदा आफूलाई अत्यन्त ठूलो खुसी लागेको बताएका छन्।‘मभित्र धेरै भावना छन्। म यो चुनौतीका लागि पूर्ण रूपमा तयार छु। यही कुराले मलाई प्रेरित गर्छ,’ उनी बताउँछन्।

जिदानले डेसच्याम्पको खुलेर प्रशंसा गरे। डेसच्याम्पले सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताए भने हालै सम्पन्न विश्वकपमा सेमिफाइनलसम्म पुर्‍याए। ‘यो टोलीको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ। टोलीलाई फेरि जिताउने लक्ष्यका साथ सबैथोक दिनेछु,’ उनले भने, ‘डेसच्याम्पले बिताएका उत्कृष्ट वर्षका लागि पनि उनलाई बधाई दिन चाहन्छु।’

डेसच्याम्पले २०२६ को विश्वकपपछि पद छाड्ने घोषणा गरेलगत्तै सन् २०२५ को फेब्रुअरीमै जिदानसँग प्रारम्भिक छलफल गरिएको फ्रान्सका अध्यक्षले बताए। जिदानले आफ्नो टोली डेसच्याम्पको शैलीभन्दा फरक ढंगले खेल्ने संकेत पनि दिए। ‘म नम्बर १० खेलाडी थिएँ, मलाई गोल मन पर्छ,’ जिदानले भने, ‘मैदानमा म नेतृत्व गर्थें। अब अनुभवका आधारमा टोलीलाई नेतृत्व गर्न चाहन्छु।’ 

जिदानको प्रशिक्षणमा फ्रान्सको पहिलो खेल सेप्टेम्बर २५ तारिखमा टर्कीविरुद्ध नेसन्स लिगअन्तर्गत हुनेछ। त्यसको तीन दिनपछि फ्रान्सले बेल्जियमसँग खेल्नेछ।

घरेलु समर्थकले भने अक्टोबर २ मा स्टेड डे फ्रान्समा इटालीविरुद्धको खेलमार्फत पहिलोपटक जिदानलाई राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा देख्नेछन्। २० वर्षअघि सन् २००६ को विश्वकप फाइनलमा इटालीका मार्को माटराजीलाई छातीमा टाउकोले प्रहार गरेपछि रातो कार्ड पाएका जिदानका लागि यो खेल विशेष हुनेछ।‘

आगामी चारवटै खेल मेरो दिमागमा स्पष्ट छन्,’ उनले निधारतर्फ औंला देखाउँदै भने, ‘इटालीसँगको खेल विशेष हुनेछ। मैले त्यहाँ खेलेको छु, त्यहाँका मानिसलाई चिन्छु, इटालियन भाषा पनि बोल्छु। यी सबै कारणले त्यो खेल फरक हुनेछ।’

जिदान महासंघको मुख्यालयबाहिर भेला भएका समर्थकमाझ पुगेका थिए। उनी देख्नासाथ समर्थकले ठूलो स्वरमा स्वागत गरेका थिए।

डेसच्याम्पपछि जिदान

फ्रान्स सन् २०२२ को विश्वकप फाइनलमा पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो।सन् २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनल पनि आफ्नै घरेलु मैदानमा फ्रान्स पराजित हुन पुग्यो।

फ्रान्सेली पूर्वखेलाडी क्रिस्टोफ डुगारीसहित डेसच्याम्पका केही आलोचकले उत्कृष्ट खेलाडी हुँदाहुँदै उनले अझ धेरै उपाधि जिताउनुपर्ने धारणा राख्दै आएका थिए।डेसच्याम्पले आफ्नो कार्यकालको अन्त्यतिर सास फेर्नै गाह्रो हुने वातावरण रहेको बताएका थिए। यद्यपि कारण भने उनले खुलाएका थिएनन्। डेसच्याम्प र जिदान फरक शैलीका मिडफिल्डर भए पनि फ्रान्सेली फुटबल इतिहासमा उनीहरू सधैं एकअर्कासँग जोडिएर सम्झिने गरिन्छ। कप्तान डेसच्याम्पको नेतृत्व र जिदानको सिर्जनात्मक खेलकै मद्दतमा फ्रान्सले सन् १९९८ को विश्वकप र सन् २००० को युरोपियन च्याम्पियनसिप जितेको थियो।जिदानले ९८ को विश्वकप फाइनलमा ब्राजिलविरुद्ध दुई हेडर गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाएका थिए। मार्सेमा अल्जेरियाली आप्रवासीका सन्तानका रूपमा जन्मिएका हुन्, जिदान।

जिदानले क्लब करियर कान्सबाट सुरु गर्दै बोर्डो, इटालीको युभेन्ट्स र स्पेनको मड्रिडबाट खेले। सन् १९९४ मा चेक गणतन्त्रविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै उनले दुई उत्कृष्ट गोलसहित अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए। युभेन्ट्स र मड्रिडबाट घरेलु लिग उपाधि जितेका जिदानले सन् २००२ मा च्याम्पियन्स लिगमा मड्रिडलाई उपाधि पनि दिलाएका थिए।

सन् २००२ को विश्वकपमा चोटका कारण संघर्ष गरिरहेका जिदानबिना फ्रान्स समूहचरणबाटै बाहिरिएको थियो।सन् २००६ मा उनले अन्तर्राष्ट्रिय संन्यास फिर्ता लिए र फ्रान्स पुनः विश्वकप फाइनलसम्म पुग्यो। फ्रान्सका लागि उनको १०८औं र अन्तिम खेल सन् २००६ को विश्वकप फाइनल नै बन्यो।

पेनाल्टी गोल गर्दै उनले फ्रान्सका लागि आफ्नो ३१औं र अन्तिम गोल गरेका थिए तर त्यसपछि माटेरात्जीमाथि गरेको टाउको प्रहारका कारण रातो कार्ड पाएर उनले मैदान छाड्नुपरेको थियो। विश्वकप ट्रफीको छेउ हुँदै मैदानबाट बाहिरिँदा जिदानको गौरवपूर्ण अन्तर्राष्ट्रिय खेलजीवन पनि त्यही समाप्त हुन पुग्यो। अब उनी प्रशिक्षकका रूपमा नयाँ अध्याय सुरु गर्दै छन्। फ्रान्सलाई पुनः विश्व फुटबलको शिखरमा पुर्‍याउने जिम्मेवारी उनकै काँधमा आएको छ।

प्रकाशित: १३ श्रावण २०८३ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App