इंग्लिस प्रिमियर लिगको जारी सिजन आज सकिँदैछ। सिजनको अन्तिम खेलहरु (सबै १० खेल) आज राति ८ः४५ बजे एकसाथ सुरु हुनेछन्।
जारी सिजन आर्सनल (८२) ले एक खेल अगावै उपाधि कब्जा गरिसकेको छ। उपाधि विजेता आर्सनलले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ। रेलिगेशनको खतराबाट बाहिरिसकेको र शीर्ष ८ मा पर्ने सम्भावना पनि नरहेकाले प्यालेससँगको आर्सनलको खेलले समीकरणमा कतै प्रभाव पर्ने छैन । सिटी र एस्टन भिल्लाबीचको खेल पनि समीकरण फेरबदल हुनेछैन।
आर्सनलसँगै दोस्रो स्थानमा म्यानचेस्टर सिटी(७८), तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेड(६८) र चौथो स्थानमा एस्टन भिल्ला(६२) पक्का भइसकेका छन्। उनीहरुले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरे। लिगको अन्तिम खेल उनीहरुसबैका लागि प्रतिस्ठाको लडाइमात्र हुनेछ।
च्याम्पियन्स लिग खेल्ने पाँचौ टोलीमा लिभरपुलले स्थान लगभग पक्का गरिसकेको छ। यद्यपि छैठौं स्थानको बर्नमाउथ भन्दा मात्र तीन अंकले अघि रहेकाले अन्तिम खेलमा पराकिलो हार र बर्नमाउथको फराकिलो जितले उसलाई असर गर्न सक्नेछ। लिभरपुलको साँधुरो हार वा बर्नमाउथको साँधुृरो जितले मात्र पनि लिभरपुलले च्याम्पियन्स लिगमा स्थान बनाउनेछ। लिभरपुलले ब्रेन्टफोर्डसँग र बर्नमाउथले नोटिङघम फरेस्टसँग जारी सिजनको अन्तिम खेल खेल्नेछन्।
५६ अंक रहेको बर्नमाउथले भने कम्तीमा युरोपा लिगमा स्थान बनाइसकेको छ। ५३ अंक भएको ब्राइटन एन्ड होभ एल्वियन र ५२ अंकमा आठौं स्थानमा रहेका चेल्सीबीच युरोपा लिग खेल्ने अर्को टोलीका लागि प्रतिस्पर्धा छ। यद्यपि यो होडमा नवौं स्थानको ब्रेन्टफोर्ड (५२), दशौं स्थानको सन्डरल्यान्ड (५१), ११औं स्थानको न्युकासल युनाइटेड (४९), १२औं स्थानको एभरटन (४९) र १३ औं स्थानको फुलहाम (४९) को सम्भावना पनि कायमै छ। तर यसका लागि एकअर्का को नतिजामा भर पर्नुपर्नेछ।
आफ्नो अन्तिम खेलमा चेल्सीले सन्डरल्यान्डसँग र ब्राइटनले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछन्। फुलहाम र न्युकासल आमने सामने हुनेछन्।
यो सिजन बर्नली र वोल्भरह्याप्टन रेलिगेशनमा परेका छन्। १९ औं स्थानमा रहेको बर्नलीको २१ र २० औं स्थानमा रहेको वोल्भ्सको १९ अंक छ । रेलिगेशनमा पर्ने तेस्रो टिमको भने आजमात्र टुंगो लाग्नेछ। यो सिजन खराब लयबाट गुज्रिएको टटनह्याम हट्सपर ३८ अंकमा १७औं र वेस्टहाम युनाइटेड ३६ अंकमा १८औं स्थानमा छन्। टटनह्यामले एभरटनसँग र वेस्टहामले लिड्स युनाइटेडसँग खेल्नेछन्। आफ्नो हार र वेस्टहामको जितले टटनह्याम यो सिजन रेलिगेशनमा पर्नेछ। त्यसैले प्रिमियर लिगमा स्थान बनाउन टटनहामलाई सिजनको अन्तिम खेलमा कम्तीमा बराबरी आवश्यक छ।
लिड्स, क्रिस्टल र नोटिङघम भने प्रिमियर लिगमा यथावत रहने पक्का भइसकेको छ।
प्रकाशित: १० जेष्ठ २०८३ १४:०१ आइतबार





-600x400.jpg)