नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
प्रतियोगिताको ‘एक्युरेसी ओभरअल’तर्फ अमन थापामगर विजेता भएका हुन्।
अमनलाई नगद रु एक लाख ५० हजारसहित मेडल र पुरस्कार प्रदान गरिएको सङ्घका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए। त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु एक लाख प्राप्त गरे भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु ७५ हजार पाए।
खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, इक्सा राई दोस्रो र विद्या राई तेस्रो भइन्। उनलाई क्रमश रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कारसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ।
समूहतर्फ अरुण जालारी, अञ्जन कुँवर, पवन परियार र रिकी पोडेको समूह प्रथम भएको छ भने युवराज सुनुवार, सुमनजङ थापा, विष्णु तिमल्सिना र रोशन बस्नेतको समूह दोस्रो, कृष्णबहादुर क्षेत्री, अमन थापा र विष्णु कार्कीको समूह तेस्रो भएको छ। प्रथम, द्वितीय र तृतीय समूहले क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्राप्त गरेका सङ्घका अध्यक्ष चाम्लिङले जानकारी दिए।
एक्युरेसी नेसनल महिलातर्फ इक्सा राई प्रथम हुँदै रु ३० हजार, विद्या राई दोस्रो हुँदै रु २० हजार र देवकीमाया सुनुवार तेस्रो हुँदै रु १० हजार पुरस्कार प्राप्त गरिन्। त्यस्तै एक्युरेसी नेसनल पुरुषतर्फ अमन थापा प्रथम हुँदै रु ३० हजार, सागर नेपाली दोस्रो हुँदै रु २० हजार र पवन परियार तेस्रो हुँदै रु १० हजार पुरस्कार प्राप्त गरेका अध्यक्ष चाम्लिङले बताए।
यही वैशाख २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता भारत र नेपालका गरी ३२ जना खेलाडीको सहभागिता थियो। तीमध्ये चार जना महिला खेलाडी सहभागी भएका आयोजक नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घले जनाएको छ।
प्रकाशित: २९ वैशाख २०८३ ०६:३१ मंगलबार





