लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर भएको छ।
कीर्तिपुरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बिहीबार नेदरल्यान्ड्ससँग २ रनको साँघुरो अन्तरले पराजित हुन पुग्यो। कुल १० टोली सहभागी छनोटमा दुई समूहका शीर्ष तीन राष्ट्र सुपर सिक्समा पुग्ने प्रावधान छ।
समूह ‘बी’ मा रहेको नेपालले लगातार दोस्रो हार बेहोरेपछि सुपर सिक्सको सम्भावना कमजोर भएको हो। अब नेपालले समूहका बाँकी दुई खेल जित्नुपर्ने हुन्छ। पहिलो खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पनि हार बेहोरेपछि नेपालको सम्भावना कमजोर भएको हो।
अब नेपालले समूहका दुई खेलअन्तर्गत आगामी जनवरी २४ तारिखमा जिम्बाब्वे र जनवरी २६ तारिखमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यी खेलमा जित निकाल्न सके मात्र नेपाली महिला टोलीको विश्वकप यात्रा जीवन्त रहनेछ।
त्रिवि क्रिकेट मैदानमा डच टोलीले एक सय ४१ रनको लक्ष्य पाएको थियो। तर, नेपालले पूरै ओभर खेले पनि सात विकेटको क्षतिमा १३८ रन मात्र जोड्न सक्यो। जितका लागि नेपाललाई अन्तिम बलमा ६ रन आवश्यक थियो तर अनुभवी ब्याटर रुबिना क्षेत्रीले चौका मात्र प्रहार गर्न सकिन्। यससँगै नेपालले साँघुरो हार बेहोर्यो। नेदरल्यान्ड्स भने लगातार तेस्रो जित निकाल्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।
नेपाल एक समय जितनजिक पुगिसकेको थियो। अन्तिम तीन ओभरमा नेपालले ४१ रन जोडे पनि सफलता पाउन सकेन। अनुभवी ब्याटरद्वय रुबिना र सीता रानामगरले आठौं विकेटका लागि ४५ रनको साझेदारी गरे पनि पर्याप्त भएन। १८औं ओभरमा यी दुईले २० रन जोडेका थिए।
रुबिना ३७ रन र सीता २७ रनमा अविजित रहे। ३२ बल खेलेकी रुबिनाले पाँच चौका प्रहार गरिन्। सीताले १२ बलमा चार चौका र एक छक्का हिर्काइन्। अन्तिम बलमा नेपाललाई जित्न छक्का चाहिएको थियो। रुबिनाले चौका मात्र प्रहार गरिन्। दोस्रो खेलमा पनि नेपालले राम्रो सुरुआत गर्ने प्रयास गर्यो तर चौथो ओभरमा ओपनरद्वय विन्दु रावल र सम्झना खड्का आउट भए। विन्दु १८ रनमा रनआउट हुन पुगिन्। सम्झना १४ रनमा रोबिन रिज्कीद्वारा आउट भइन्। त्यसपछि लगातार तीन ब्याटर सस्तैमा आउट भए। साथै उपकप्तान पूजा महतो र कप्तान इन्दु बर्माले धेरै बलको पनि सामना गरे। इन्दुले १० बलमा ६ रन र पूजाले २१ बलमा ८ रन जोडे। यसपछि नेपालमाथि दबाब बढ्यो।
कविता जोशी १३ रन बनाएर आउट भइन्। तर, रुबिना र सीताले आक्रामक खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल भएनन्। नेदरल्यान्ड्सको बलिङमा इसाबेल भान डेर वोनिङले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १६ रन खर्चिइन्।
सिल्भर सिजर्स, रोबिन र क्यारोलिन डे ल्याङ्गेको नाममा समान १ विकेट रह्यो। टस जितेपछि डच टोलीले पहिले ब्याटिङ गर्यो। निर्धारित २० ओभरमा पाँच विकेट गुमाएको डच टोलीले एक सय ४० रन बनायो। पहिलो ओभरमै नेपालकी बलर पूजाले फेबे मोल्केन बोरललाई शून्यमा नै आउट गर्दै राम्रो सुरुआत दिलाइन्। अर्की ओपनर हिथर सिगर्स १३ रनमै आउट भइन्।
यससँगै डच टोली १.३ ओभरमा १५/२ को अवस्थामा पुग्यो तर, तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै डच टोलीले राम्रो योगफलसम्म पुर्यायो। नेदरल्यान्ड्सकी कप्तान बाबेट डी लिडेले सर्वाधिक ४९ रन बनाइन्। स्टेर कालिसले ३० रनमा आउट हुँदा रिज्की १९ रनमा नटआउट रहिन्। नेपालको बलिङमा रुबिना क्षेत्रीले दुई तथा सोमु विष्ट, पूजा, रिया शर्माले समान एक विकेट लिएका थिए।
प्रकाशित: ९ माघ २०८२ ०६:५४ शुक्रबार





