खोटाङको साकेला गाउँपालिकास्थित सामुदायिक भवनमा बुधबार आगलागी हुँदा करोडौँ बराबरको धनमाल क्षति भएको छ। साकेला–४ मात्तिम मानेभञ्ज्याङस्थित गाउँपालिकाको जिन्सी भण्डार (स्टोर) तथा जनप्रतिनिधि र कर्मचारी बस्दै आएको आवास गृह (क्वाटर) भवन बुधबार आगलागीमा परि नष्ट भएको हो।
गाउँपालिकाका सूचना अअधिकारी डिएम चामलिङ राईका अनुसार आगलागीमा परि ३ करोड १५ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक आँकलन छ। विहान ७/८ वजेदेखि नै धुँवाको मुस्लो देखिए पनि भवनमा आगलागी भएको कुरा भनेपछि मात्र जानकारी भएको थियो।
उपाध्यक्ष बिर्सिका राई, सूचना अधिकारी चामलिङ र लेखा अधिकृत उत्तम आचार्य बस्दै आएको अढाईतल्ले भवनको भुईँतलामा गाउँपालिकाको जिन्सी सामग्री गोदाम गरिएको थियो। आगलागीमा परि गोदाममा राखेका सम्पूर्ण जिन्सी सामग्री नष्ट हुनुका साथै जनप्रतिनिधि र कर्मचारीको लुगाफाटा, भाँडाबर्तन र अन्य सम्पति खरानी भएको सूचना अधिकारी चामलिङले बताए।
आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय मात्तिमको टोलीलाई स्थानीयवासीको सहयोगले करिब ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो।
आगोले गाउँपालिकासँग सम्बन्धित सबै जिन्सी सामान खरानी बनाएको छ। पूर्ण सरसफाइ अभियान चलाइरहेको गाउँपालिकाको सरसफाइसँग सम्बन्धित सबै सामग्री जलेर ध्वस्त भएको छ। प्रहरीको प्रारम्भिक सर्जमिन मुचुल्कामा ३ करोड १५ लाख ३६ हजार बराबरको क्षति भएको विवरण तयार भएको भए पनि योभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान छ।
आगलागीले साढे २ तले पक्की भवन कामै नलाग्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ। आगोले भुईँ तल्लामा गाउँपालिकाको स्टोर र पहिलो तल्लामा उपप्रमुख राई, सूचना अधिकारी अन्य लेखा अधिकृतको आवाससँगै सभाकक्षको फर्निचर सबै नष्ट पारेको छ।
आगलागी विहानकै समयमा भए पनि बिदाको दिन भएकाले कोही नभएकाले एकैचोटी दन्किएपछि मात्र जानकारी पाएकाले भण्डारण गरिएका कुनै पनि सामग्री निकाल्न नपाएको गाउँपालिकाले जनाएको छ। आगोले ठूलो धनराशीबराबरको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
आगलागीका कारण माथिल्लो तलामा रहेको उपप्रमुख राई र कर्मचारीको क्वाटर तथा सभाहलमा समेत क्षति पुगेको जनाइएको छ। बिदाको दिन नभएको भए मानवीय क्षति हुन पनि बेर नलाग्ने भन्दै स्थानीयले धन्न मान्छे नभएका बेला घटना भएकाले अप्रिय घटना हुन नपाएको बताए।
उपप्रमुख राई, लेखा अधिकृत उत्तम आचार्य र सूचना अधिकारी चामलिङको आवासको रूपमा प्रयोग हुँदै आएको भवनमा कसरी आगलागी भयो भन्ने कुरा भने अहिले किटान गर्न नसकिने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले विद्युत सर्ट भएको पनि नदेखिएकाले आगलागीको कारण के हो भन्न नसकिने बताए।
स्थानीयले भने मान्छे कोही नभएको मौकामा भएको घटना हुनु शंकास्पद रहेको बताएका छन्। नयाँ भवन भएकाले विद्युत सट हुने सम्भावना कम रहेको र बिदा भएकाले कोही नभएको बेला भएको घटनालाई शंका मान्नु स्वाभाविक भएको भन्दै प्रहरीले यसबारे गहिरो अनुसन्धान गर्नुपर्ने उपप्रमुख राईले बताएकी छिन्।
प्रकाशित: ७ फाल्गुन २०८२ १०:५३ बिहीबार





