२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

अमेरिका पुगेको सपना रक्तरञ्जित: पिता नै यमराज बनेपछि ...

थापाको आक्रमणमा श्रीमती र छोरीको मृत्यु, ज्वाइँ गम्भीर

उदयपुरको बेलका नगरपालिका–९, रामपुर बजारकी ममता थापा डाइभर्सिटी भिसा (डिभी) मार्फत ३ वर्षअघि अमेरिका जाँदा निकै हर्षित थिइन्। साथीभाइसँग उनी भविष्यका योजना बाँड्थिन्,‘उतै बस्ने, घरजम गर्ने, कमाउन थालेपछि बेलाबेला नेपाल आउने, बाउ–आमालाई लगेर अमेरिकाका विभिन्न ठाउँ घुमाउने।’

मध्यमवर्गीय थापा परिवारकी जेठी छोरी ममता शिशुतहदेखि कक्षा १२ सम्म बोर्डिङ विद्यालयमा अध्ययन गरेकी थिइन्। उनले सधैं ‘मेरो सपना अमेरिका हो’ भन्ने गर्थिन्। दोस्रो प्रयासमै डिभी परेपछि उनी अमेरिका उडिन्। विराटनगरका सन्तोष बस्नेतसँग प्रेमविवाह गरेकी ममता श्रीमान्सँगै अमेरिकामा बस्दै आएकी थिइन्।

३ वर्षपछि उनी नाबालक छोरा र श्रीमान्सहित दसैं मनाउन नेपाल आएकी थिइन्। रामपुर आएर बाउ–आमाको आशीर्वाद लिइन् र तिहार पनि त्यहीँ मनाइन्। त्यसपछि कात्तिक २५ गते बाउ–आमालाई साथ लिएर परिवारसहित अमेरिका फर्किइन्।

भ्रमण अनुमति (भिजिट भिसा)मा छोरीसँगै अमेरिका पुगेका छत्रबहादुर र ५१ वर्षीया श्रीमती विन्दा थापाको ३ महिनाको अवधि सकिन लागेको थियो। केही स्थान घुम्न बाँकी रहेकाले भिसा अवधि थप्ने प्रक्रिया चलिरहेको थियो। यता कान्छी छोरी मनिषाले बेलका–९ कै घिमिरे परिवारका युवकसँग प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गरिसकेकी थिइन्। बाउ–आमाको सहमतिमा बिहे पक्का भएको थियो।

फागुन १३ गते (आज) दुलही भएर घरबाट अन्मिन तयारीमा रहेकी मनिषाले अघिल्लो दिन मंगलबार बिहान (अमेरिकामा राति ५:३० बजे) अकल्पनीय घटना सुन्नुपर्‍यो। छत्रबहादुरले ५१ वर्षीया श्रीमती विन्दा र ३१ वर्षीया छोरी ममतामाथि धारिलो हतियार प्रहार गरी हत्या गरे। ज्वाइँ सन्तोष बस्नेतलाई मरनासन्न हुने गरी घाइते बनाए।

पारिवारिक स्रोतलाई उद्धृत गर्दै बेलका नगरप्रमुख अशोक कार्कीका अनुसार सन्तोष घरबाहिर जमेको हिउँ (आइस) फुटाउँदै थिए। घरभित्र कोलाहलको आवाज आएपछि भित्र छिर्दा सासु विन्दा र श्रीमती ममता रक्ताम्य अवस्थामा अन्तिम सास लिइरहेका थिए। ससुरा छत्रबहादुर भने दाउ (एक प्रकारको खुकुरी) हातमा लिएर उग्र अवस्थामा थिए।

घटना देख्नेबित्तिकै सन्तोषले ९११ मा फोन गरेर प्रहरी बोलाए। ससुरालाई सम्झाउने क्रममा उनीमाथि पुनः हतियार प्रहार हुँदा गम्भीर घाइते भए। केहीबेरमै प्रहरी पुगेर छत्रबहादुरलाई हतियार फाल्न पटकपटक आग्रह गर्‍यो। तर उनले उल्टै प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी फायर खोल्दा उनी घटनास्थलमै ढले।

आफ्नै हातले हुर्काएको छोरी र जीवनसाथीको हत्या गरेका छत्रबहादुर अन्ततः प्रहरी कारबाहीमा मारिए। संयोगवश १७ महिनाका शिशु (ममता–सन्तोषका छोरा) भने सुरक्षित रहेको नगरप्रमुख कार्कीले बताए,‘भाग्यले नाबालक नातिलाई केही गरेनछन्।’

बेलका–९ का वडाध्यक्ष भरत घिमिरेका अनुसार छत्रबहादुर लामो समयदेखि मानसिक रोग (डिप्रेसन)बाट पीडित थिए। बेलाबेलामा असामान्य व्यवहार देखाउने र नियमित औषधि सेवन गर्ने गरेका थिए। ‘लामो समयदेखिको बिरामी बाउको राम्रो उपचार गराउने र बुढेसकालमा घुमफिर गराउने उद्देश्यले ममताकै आग्रहमा बाउ–आमा अमेरिका गएका थिए,’ वडाध्यक्ष घिमिरेले भने, ‘आफ्नै बाउ यसरी काल बन्लान् भन्ने कसैले सोचेको थिएन।’

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको एक अपार्टमेन्टमा घटेको यो घटनाले थापा परिवारका ३ सदस्यको ज्यान गएको छ। यता मनिषाको विवाहको खुसी शोकमा परिणत भएको छ भने सिंगो बेलका नगरपालिका नै शोकाकुल बनेको छ।

नगरप्रमुख कार्कीले शव पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखी अनुसन्धान भइरहेको जानकारी दिए। कानुनी जटिलताका कारण शव नेपाल ल्याउने विषयमा अन्योल रहेको बताए।

३० वर्षीय एक मात्र छोरा मौसम बाउ–आमा र दिदीको मृत्युको खबरले स्तब्ध छन्। इटहरीमा बस्दै आएका मौसम केही दिनअघि बहिनीको विवाह तयारीका लागि रामपुर आएका थिए। ‘बिहेमा बाउ–आमा पनि आउन् भन्ने चाहना थियो, तर भिसा प्रक्रिया नमिलेर नआउने भनेका थिए,’ कार्कीले भने, ‘अकल्पनीय घटना भइहाल्यो।’

छिमेकी गणेश बस्नेतका अनुसार घटनाभन्दा केही दिनअघि छत्रबहादुरले दाजु टीकारामलाई फोन गरेर ३ दिनभित्र नेपाल फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। ‘अमेरिकाजस्तो ठाउँमा तत्काल भिसा र टिकट मिलाउन गाह्रो हुन्छ, बुझेर खबर गर्छु,’ भनेर दाजुले सम्झाएका रहेछन्। तर तीन दिन नपुग्दै यस्तो दुखद घटना घट्यो।

प्रकाशित: १३ फाल्गुन २०८२ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App