मम्स इन्टरनेसनल नेपालले ११औं सागका स्वर्ण विजेता सुनिल लामा र उदीयमान खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बुधबार आयोजित एक कार्यक्रमका बीच मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा उत्कृष्ट योगदान पुर्याएबापत सुनिललाई सम्मान गरेको हो।
सुनिल बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद ९साग० र १३औं एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता हुन्। सुनिलको निरन्तर समर्पण र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई दिलाएको सफलताको उच्च कदर गर्दै सम्मान गरिएको मम्स इन्टरनेसनलले सम्मान गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित सांगीतिक समूह एक्स ब्यान्डका ड्रमर सुरेन्द्र श्रेष्ठ र मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) रन्जिता लामाले सुनिल र याङ्तेनलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरे। १३औं सागका दोहोरो स्वर्ण पदक विजेता तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते खेलाडी सुमन तिमल्सिनाले पनि दुवैलाई खादा ओढाई बधाई ज्ञापन गरे। उदीयमान खेलाडी याङतेन पनि सुनिलका छोरा हुन्।
विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपलब्धि हासिल गरेका उनका छोरा याङतेनलाई पनि सोही अवसरमा सम्मानित गरिएको हो । हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका सुनिलले काठमाडौंको रानीवनमा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी स्थापना गरी कराते खेलको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
सो अवसरमा मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) रन्जिता लामाले नेपाली करातेका चिरपरिचित र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु संस्थाका लागि खुसीको क्षण भएको बताए।
च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुग्ने खेलकर्मीहरूलाई गर्ने स्वागत र सत्कारको गर्दै आएको भन्दै लामाले प्रशंसा गरिन्। सो अवसरमा सुनिल लामाले आफू र आफ्नो छोराको सफलताको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेकोमा मम्स इन्टरनेसनल नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गरे।
प्रकाशित: १३ श्रावण २०८३ १४:०६ बुधबार





