लज्जास्पद हारको तीन दिनपछि बदला लिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ।
गत शनिबार विराटनगर किङ्सले लिगको अन्तिम खेलमा सुदूरपश्चिममाथि फराकिलो जितसँगै यस सिजनको पहिलो क्वालिफायरमा सोही टोलीसँग भेट पक्का गरेको थियो। त्यो खेलमा जित निकाल्ने क्रममा विराटनगरले ११.५ ओभरमै लक्ष्य भेट्टाएको हो।
४९ बलअगावै खेल आफ्नो बनाएको विराटनगरको त्यो जित एकपक्षीय नै रह्यो तर पनि सिजनको दोस्रो भेट प्रतिस्पर्धात्मक हुने अनुमान थियो। विराटनगरको बलियो पक्ष शीर्ष क्रममा आक्रामक ब्याटिङ हो। यता, सुदूरपश्चिम भने फिल्डिङमा चुस्त देखिँदै आएको थियो। उनीहरू हरेक फरकफरक खेलमा चल्ने गर्थे। तीन दिनपछि मंगलबार यी दुई भिड्दा दृश्य फरक देखियो।
यसपल्ट सुदूरपश्चिमले एकपक्षीय रूपमा नै जित निकाल्यो, त्यो पनि ३५ बलअगावै। विराटनगर पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिमसँग ७७ रनको फराकिलो हार सामना गर्न बाध्य भयो। बलियो पक्ष मानिएको विराटनगरको आक्रामक शीर्ष क्रमको ब्याटिङ नै धराशयी बन्यो। यससँगै सुदूरपश्चिमले पछिल्लो लज्जास्पद हारको बदला लियो। एकपल्ट फेरि शीर्ष क्रम चल्न नसक्दा विराटनगर असफल भयो। विराटनगरका टिम डाइरेक्टर दीपेन्द्र चौधरीले पनि तीन ब्याटर छिटै आउट भएसँगै खेलमा असर परेको बताए। ‘छिट्टै तीन विकेट गयो। त्यसले नै खेलमा असर पर्यो। विदेशी खेलाडी नै शीर्ष क्रममा छन्। उनीहरू छिट्टै गएपछि फर्कन नै सकेनौं,’ डाइरेक्टर चौधरीले भने, ‘शीर्ष क्रममा नै निर्भर पर्ने अवस्था सुधार गर्ने प्रयास भए पनि सफल भएनौं। आगामी खेलमा सुधार गर्छौं।’
शीर्ष क्रम चल्न नसक्दा विराटनगरको ब्याटिङ पूर्ण धराशयी बन्यो। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक ५६ रनको लक्ष्य दिएको थियो तर, विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट हुन पुग्यो। ओपनर फाप डु प्लेसिसले ३६ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो र कुनै पनि ब्याटर लामो समय क्रिजमा रहन सकेनन्। इनिङको पहिलो बलदेखि नै विकेट गुमाएको विराटनगर समालिन नै सकेन। पहिलो दुई ओभरमा नै विराटनगरका तीन ब्याटर आउट भए। इनिङको पहिलो बलमै ओपर साम हेजलेट शून्यमै आउट भए। ओभरको अन्तिम बलमा मार्टिन गप्टिल २ रनमा रनआउट हुन पुगे। दोस्रो ओभरको पहिलो बलमै विराटनगरले तेस्रो विकेट गुमायो।
नरेन भट्ट खाता नखोल्दै पभेलियन फर्किए। यससँगै १.१ ओभरमा विराटनगर ३/३ को नाजुक अवस्थामा पुग्यो । तर, अर्का ओपनर डु प्लेसिस र बसिर अहमदले इनिङ समाल्ने प्रयास गरे। सातौं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले बसिरलाई १२ रनमा कट एन्ड बोल्ड गराए। फेरि विराटनगरले लगातार विकेट गुमाउन पुग्यो। लोकेश बम ५ र नारायण जोशी १ रनमा आउट भए। ९.१ ओभरमा विराटनगर ५३/६ को नाजुक अवस्थामा पुग्यो। ११औं ओभरमा फाफ पभेलियन फर्किए र विराटनगरको जित आशा कमजोर बन्यो। फापले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। हेमन्त धामीले शेल्डन ज्याक्सद्वारा फापलाई क्याच गराए। त्यसपछि मार्चन्ड डे लाङ्गेले १५ रन जोडेर आउट भए।
प्रतीश जिसी र कप्तान सन्दीप लामिछाने समान ३ रनमा आउट भए। सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिन, हरमित सिंह र अविनाश बोहोराले समान दुई तथा हेमन्त र दीपेन्द्रले समान एक विकेट लिए। जितपछि सुदूरपश्चिमका कुग्गेलिनले फेरि फाइनलमा विराटनगरसँग नै भेट हुने अपेक्षा गरेका छन्। ‘आजको खेलमा राम्रो नै लक्ष्य दिएको थियौं। सोहीअनुरूप बलिङमा पनि राम्रो गर्यौं। अवसर सदुपयोग भयो,’ उनले भने, ‘पछिल्लो भेटमा विराटनगरसँग खराब हार सामना गरेका थियौं तर टी ट्वान्टीमा हरेक खेलमा परिस्थिति फरक हुन्छ र आज खेल हाम्रो पक्षमा रह्यो। विराटनगर नै फाइनल पुगोस् भन्ने अपेक्षा छ। यसपल्ट उपाधि जित्नेछौं।’
त्यसअघि टस हारेको सुदूरपश्चिमको ब्याटिङ पनि ओपनर विनोद भण्डारीमा नै निर्भर देखियो। उनको अर्धशतक प्रेरणामा सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल बनायो। ओपनर विनोदले ५२ बलमा ६३ रन जोडे। उनको इनिङमा तीन चौका र चार छक्का रह्यो। उनी म्यान अफ दी म्याच पनि भए। यस सिजन सबैभन्दा धेरै रन बटुल्ने सूचीमा उनी दोस्रो (२६४) मा छन्। सुस्त ब्याटिङ गरेको सुदूरपश्चिमले तेस्रो ओभरमै पहिलो विकेट गुमायो। कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। ओपनर मुख्तर अहमद १० रनमा आउट भए। अर्को छेउबाट विनोदले इनिङ अगाडि बढाए। उनले दोस्रो विकेटका लागि शेल्डन ज्याक्सनसँग ४० रनको साझेदारी गरे।
स्पिनर सूर्य तामाङले आठौं ओभरमा शेल्डनलाई २० रनमा आउट गरे। मुख्तर र शेल्डनले एनपिएलमा पहिलो खेल खेलेका हुन् तर दुवैले राम्रो हुन सकेन। विनोदले तेस्रो विकेटको लागि पनि ईशान पाण्डेसँग ३१ रनको साझेदारी गरे। नरेन भट्टले बाउन्ड्री लाइनमा उत्कृष्ट क्याच गरेपछि ईशान १३ रनमा पभेलियन फर्किए। १२.५ ओभरमा सुदूरपश्चिम ९२/३ को अवस्थामा थियो। त्यसपछि कप्तान दीपेन्द्र पनि ३ रनमै रनआउट भए। १४औं ओभर समाप्तिमा सुदूरपश्चिमले एक सय रनको आँकडा पूरा गर्यो। हरमित सिंह १४ रन र आरिफ शेख २० रन बनाएर आउट भए। विराटनगरको बलिङमा प्रतीश र मर्चान्ड डे लाङ्गेले समान दुई तथा सूर्य र साम हेजलेटले समान एक विकेट लिए। पराजित विराटनगरले दोस्रो क्वालिफायर आगामी बिहीबार इलिमिनेटरको विजेतासँग खेल्नेछ। बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको इलिमिनेटर विजेताले विराटनगरसँग भेट पक्का गर्नेछ।
प्रकाशित: २४ मंसिर २०८२ ०६:४९ बुधबार





