२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

एन्फा पदाधिकारीलाई खेलकुदमन्त्रीले भने- विश्वकप हेर्न रहर गर्नेले आशा जगाउने काम गरेको हुनुपर्छ

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूलाई विश्वकप हेर्न जानुअघि नेपाली फुटबलमा आशा जगाउने काम गर्न चेतावनी दिएका छन्।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

मन्त्री पोखरेलले नेपाली फुटबलको आन्तरिक अवस्था खस्कँदै गएको तर पदाधिकारीहरू भने वैदेशिक भ्रमण र विश्वकप हेर्न लालायित भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले एन्फाका पदाधिकारीहरूले पहिला देशको फुटबल विकासमा ध्यान दिनुपर्ने बताए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘विश्वकपमा एन्फाका पदाधिकारीहरू अब त्यतिखेर मात्र जानुहुन्छ, जतिखेर नेपाली फुटबलले केही न केही आशा देखाउँछ। नेपाली टोलीले विश्वकप नै खेल्नुपर्छ भन्ने छैन, तर यहाँको फुटबलले आम मानिसमा केही न केही आशा त जगाउनुपर्यो नि।’

हाल नेपालमा घरेलु डिभिजन लिगका खेलहरू ठप्प भएको र फिफाको निलम्बनका कारण खेलकुद क्षेत्र धराशायी बनेको भन्दै उनले चिन्ता व्यक्त गरे। यस्तो अवस्थामा पदाधिकारीहरू सुविधा र वैदेशिक भ्रमणमा केन्द्रित हुनु विडम्बनापूर्ण भएको उनको भनाइ थियो।

‘उहाँहरुले विश्वकप हेर्न जान हामीलाई रोक्यो भन्दै हुनुहुन्छ। विश्वकप हेर्न एन्फाको पदाधिकारी त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबलले केही न केही आशा देखाएको हुनुपर्छ। नेपालको फुटबल विकास हुन सकेको छैन । यो भन्दा तल जाने ठाउँ नै छैन एन्फालाई ।’

एन्फामाथि लागेका भ्रष्टाचार र अनियमितताका उजुरीहरूमाथि छानबिन गर्न सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षको नेतृत्वमा समिति गठन गरिसकेको छ।

मन्त्री पोखरेलले फिफा र एएफसीसँग वार्ताका लागि पदाधिकारीहरूलाई नेपाल निमन्त्रणा गरिएको र फुटबलको समग्र सुधारका लागि ठोस योजना बनाइने प्रतिबद्धता जनाए।

उनले आगामी दिनमा एन्फालाई राजनीतिक हस्तक्षेपमुक्त बनाई पूर्वखेलाडी र खेलप्रेमीहरूको नेतृत्वमा मात्र सञ्चालन गर्न दिइने स्पष्ट पारे।

प्रकाशित: १८ असार २०८३ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App