भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ मा बृहत् खेलकुद महोत्सव आयोजना गरिने घोषणा गरेका छन्।
मध्यपुर मेयर कप कराते प्रतियोगिता–२०८३ को शनिबार मध्यपुर थिमिमा उदघाटन गर्दै नगरप्रमुख श्रेष्ठले खेलकुद क्षेत्रको विकास, खेल प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विशेष योजना अघि बढाएको बताए। उनले खेलकुदलाई स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै नगरभित्र रहेका खेलाडी, प्रशिक्षक तथा खेल संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी वर्ष खेलकुद महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।
नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवमा करातेसहित विभिन्न खेल विधाका प्रतियोगिता, प्रदर्शन तथा खेलसम्बन्धी कार्यक्रमहरू समावेश गरिनेछ। यसले नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्न तथा खेल संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।
उदघाटन समारोहमा विभिन्न विद्यालय, क्लब तथा खेल संस्थासँग आबद्ध खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई शनिबार साँझ नै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ३० जेष्ठ २०८३ १५:०२ शनिबार





