१८ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

स्पेनका मार्क कुकुरेलाले प्लास्टिक झोलामा विश्वकप ट्रफी बोकेपछि...

विश्वकप जितेपछि खेलाडीहरूले ट्रफीलाई विशेष सम्मानका साथ सम्हालेको दृश्य सामान्य मानिन्छ। तर स्पेनका डिफेन्डर मार्क कुकुरेला भने साधारण प्लास्टिकको किनमेल झोलामा ट्रफी बोकेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्।

स्पेनको विश्वकप विजयपछि सार्वजनिक गरिएको भिडियोमा कुकुरेलाले ड्रेसिङ रुमबाट बाहिर निस्कँदै गर्दा ट्रफीलाई पारदर्शी प्लास्टिकको झोलामा राखेर बोकेको देखिन्छ।

यो झोला सिंगापुरका सुपरमार्केटमा प्रयोग हुने कम्तीमा ५ सेन्ट शुल्क लाग्ने प्लास्टिक झोलासँग मिल्दोजुल्दो देखिएकाले धेरैको ध्यान त्यसतर्फ गएको हो।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा रमाइला प्रतिक्रिया आएका छन्। एक प्रयोगकर्ताले ‘विश्वकप ट्रफी पनि प्लास्टिकको झोलामा !’ भन्दै कमेन्ट गरेका छन्। अर्का प्रयोगकर्ताले ‘किनभने उनले ट्रफी जितेका थिए’ भन्दै जवाफ दिए।  

यस्तै, कसैले टोलीले सुपरमार्केटबाट ट्रफि ल्याएको भन्दै टिप्पणी गरे भने कसैले ट्रफि उनीहरुको भइसकेकोले जे गरे नि पाउने प्रतिक्रिया दिए।

अंग्रेजी स्ल्याङ 'BAGGED'ले कुनै उपलब्धि हासिल गर्नु वा जित्नु भन्ने अर्थ पनि दिने भएकाले यस्तो प्रतिक्रिया आएको हो।  

कतिपयले भने ट्रफी किन यसको आधिकारिक बक्समा नराखिएको भन्ने जिज्ञासा पनि व्यक्त गरेका थिए। त्यसको जवाफमा धेरैले भिडियोमा देखिएको ट्रफी फिफाले विजेता राष्ट्रलाई स्थायी रूपमा राख्न दिने फिफा विश्वकप विजेता ट्रफी ‘सुनको नभई सुन जडित’ भएकोले ढुक्कैले  बोकेको प्रतिक्रिया दिएका छन्।

वास्तवमै, सुनको विश्वकप ट्रफी भने फिफाकै स्वामित्वमा रहन्छ। विजेता टोलीले मैदानमा त्यसैसँग उत्सव मनाए पनि रंगशाला छाड्नुअघि फिफालाई फिर्ता गर्नुपर्ने नियम छ।

आइतबार भएको विश्वकप फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक विश्वकप उपाधि जितेको थियो। फेरान टोरेसले खेलको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका थिए।

प्रकाशित: ६ श्रावण २०८३ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App