जन्मेको एक घण्टाभित्र आमाको दूध (स्तनपान) सुरु गरी कम्तीमा दुई वर्षसम्म नियमित स्तनपान गराउँदा शिशु र आमा दुवैको स्वास्थ्य राम्रो रहने परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाले जनाएको छ। विश्व स्तनपान सप्ताहको अवसरमा शाखाले प्रत्येक आमालाई शिशु जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान गराउन आग्रह गरेको हो।
यस वर्ष ‘दीगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि हामी सबैको साथ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ।
पोषण शाखाका अनुसार शिशु जन्मिएपछि पहिलो एक घण्टाभित्र आउने ‘बिगौती दूध’ (कोलोस्ट्रम) अत्यन्त पोषिलो तथा रोगप्रतिरोधात्मक गुणयुक्त हुन्छ। यसमा संक्रमणबाट जोगाउने इम्युनोग्लोबुलिन, आँखा, छाला र प्रतिरक्षा प्रणालीका लागि लाभदायी भिटामिन ए, भिटामिन ई र के, जिंक, खनिज तत्व तथा ब्याक्टेरियाविरुद्ध लड्ने ल्याक्टोफेरिन पाइन्छ। यी तत्वले शिशुलाई संक्रमणबाट जोगाउने, आन्द्रालाई स्वस्थ राख्ने, पोषकतत्वको अवशोषण बढाउने तथा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छन्। साथै स्तनपानले शिशुमा सुरक्षाको अनुभूति गराई मानसिक तथा शारीरिक विकासमा टेवा पुर्याउनुका साथै कुपोषणबाट पनि जोगाउँछ।
शाखाले शिशु जन्मेको पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउन तथा त्यसपछि दुई वर्षसम्म आमाको दूधसँगै बहुपोषणयुक्त ठोस आहार खुवाउन सिफारिस गरेको छ।
परिवार कल्याण महाशाखा, पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार स्तनपानले शिशुलाई मात्र नभई आमाको स्वास्थ्यमा पनि उल्लेखनीय लाभ पुर्याउँछ। शिशु जन्मिएलगत्तै स्तनपान गराउँदा सुत्केरीमा अत्यधिक रक्तस्रावको जोखिम कम हुने, पाठेघर चाँडै सामान्य अवस्थामा फर्किने तथा आमा–शिशुबीच भावनात्मक सम्बन्ध अझ प्रगाढ बन्ने उनले बताए।
विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सके ३३ प्रतिशत नवजात शिशुको मृत्यु रोक्न सकिन्छ।
नेपाल बहुसूचक सर्वेक्षण २०२५ अनुसार नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ३८.४ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउने आमाको संख्या ६९.७ प्रतिशत छ।
त्यस्तै नेपाल जनसांख्यिक सर्वेक्षण २०२२ अनुसार नेपालमा २५ प्रतिशत बालबालिका कुपोषणको समस्याबाट प्रभावित छन्। सर्वेक्षणले ५६ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने, ५५ प्रतिशत आमाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने तथा ७४ प्रतिशत आमाले दुई वर्षसम्म स्तनपान गराउने तथ्य देखाएको छ। पूर्ण स्तनपानको दर कर्णाली र सुदूरपश्चिममा सबैभन्दा बढी ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम ३६ प्रतिशत रहेको उल्लेख गरिएको छ।
तथ्यांकअनुसार पाँच वर्षमुनिका ४५ प्रतिशत बालबालिकाको मृत्युमा कुपोषण प्रमुख कारण रहेको छ, जसको न्यूनीकरणमा स्तनपान प्रभावकारी उपाय मानिएको छ।
नेपालमा अपूर्ण स्तनपानको समस्या न्यूनीकरण गर्न सरकारले ‘स्तनपान कक्ष तथा स्तनपान सञ्चालन कार्यविधि, २०८०’ लागू गरी सरकारी, निजी तथा सार्वजनिक कार्यालयहरूमा स्तनपान कक्ष निर्माणलाई प्राथमिकता दिएको छ। हालसम्म ६५ भन्दा बढी अस्पतालमा स्तनपान कक्ष स्थापना भइसकेका छन्। साथै जन्मिनेबित्तिकै आमाको दूध पाउन नसकेका शिशुका लागि अस्पतालमा मिल्क बैंक स्थापना, प्रसूति सेवासँगै स्तनपान परामर्शदाताको व्यवस्था लगायतका कार्यक्रममार्फत सरकारले स्तनपान प्रवर्द्धनलाई प्राथमिकतामा राखेको पोषण शाखाले जनाएको छ।
प्रकाशित: १८ श्रावण २०८३ २०:२२ सोमबार





