७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

यलम्बर कप ब्याडमिन्टनमा सौर्य पहिलाे

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सौर्य महर्जन चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा शनिबार भएको प्रतियोगितामा सौर्य यु–१७ ब्वाइज सिंगल्समा च्याम्पियन भएका हुन्। उनले फाइनलमा आफ्नै विभागका प्रतीक विष्टलाई ११–२१, २१–१७ र २१–११ को सोझो सेटमा हराए।

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सहआयोजनामा भएको प्रतियोगिताको महिला डबल्समा कास्कीका दिलाशा र तिलमाया रानाको जोडी पहिलो भए। उक्त जोडीले फाइनलमा एपिएफकी नविना राई र आयोजक नखिपोट युथ क्लबकी निसाम हाङमा सुब्बाको जोडीलाई २१–१९ र २३–२१ को सोझो सेटमा हराए।

पुरुष डबल्सको क्याटगोरी ‘ए’ मा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेपको जोडी च्याम्पियन भए। यो जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र लक्ष्मण मल्ल ठकुरीको जोडीलाई २१–१६ र २१–१४ ले हराए। पुरुष डबल्सको क्याटगोरी ‘बी’ मा उत्सव सप्लायर्स चितवनका विधान गुरुङ र एनवाइसीका जोन जसराजको जोडीले स्वर्ण जिते। यो जोडीले फाइनलमा इटहरीका संगम गिरी र सन्देश रायमाझीको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा हरायो। भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पिएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी च्याम्पियन भए।

यो जोडीले फाइनलमा कास्कीका प्रेमकुमार गुरुङ र शम्भु श्रेष्ठको जोडीलाई २१–९, १३–२१ र २१–१२ को सेटमा सहजै हराए। विजेतालाई ललितपुर महानगरपालिका वडा–१४ का अध्यक्ष अमृतजंग महत, नखिपोट ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राई, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बू र प्रतियोगिता संयोजक बसन्त राईलगायतले पुरस्कृत गरेका थिए। सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए। चारदिने प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा ३ सय १४ खेलाडीले सहभागिता जनाएको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले जानकारी दिए।

प्रकाशित: १८ माघ २०८२ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App