डिफेन्डिङ च्याम्पियन बेन शेल्टनले अमेरिकी खेलाडी लर्नर टिएनलाई सोझो सेटमा पराजित गर्दै नेसनल बैंक ओपन (क्यानाडा ओपन) को फाइनलमा स्थान बनाएका छन्।
बुधबार राति भएको सेमिफाइनलमा पाँचौ वरीयताका २३ वर्षीय शेल्टनले १२ औँ वरीयताका टिएनलाई ६–२, ६–३ ले हराए। जितसँगै शेल्टन लगातार दोस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेका हुन्।
फाइनलमा शेल्टनले आफ्नै देशका ब्रान्डन नाकाशिमाको सामना गर्नेछन्। २८औँ वरीयताका नाकाशिमाले पहिलो सेमिफाइनलमा स्पेनका १९ वर्षीय राफेल जोडारलाई ७–६ , ६–४ ले पराजित गर्दै पहिलोपटक एटीपी मास्टर्स १००० को फाइनलमा स्थान बनाए।
शेल्टनले यस सिजन डलास, म्युनिख र स्टुटगार्टमा उपाधि जितिसकेका छन्। करिअरमा उनको उपाधि संख्या ६ पुगेको छ। उता नाकाशिमाले २०२२ मा सान डिएगोमा आफ्नो एकमात्र टुर उपाधि जितेका थिए। प्रतियोगिताअघि नै आफू उच्च स्तरको लयमा रहेको महसुस गरेको र यहाँ लामो यात्रा तय गर्न सक्ने विश्वास रहेको उनले बताए।
अब क्यानाडा ओपनको उपाधिका लागि दुई अमेरिकी खेलाडी शेल्टन र नाकाशिमाबीच रोमाञ्चक भिडन्त हुनेछ।
प्रकाशित: २८ श्रावण २०८३ ०९:४७ बिहीबार





