२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

पोखराका युवा भन्छन्ः पोखरालाई ‘डिजिटल हव’ बनाऔं’

पोखरामा सूचना प्रविधिबारे आयोजित छलफल। तस्बिरः नागरिक

गण्डकी प्रदेशसँग प्रविधि उद्यमशीलता, नवप्रवर्तन, रिमोर्ट वर्क तथा डिजिटल सेवाको केन्द्र बन्ने क्षमता रहेको भन्दै प्रदेशलाई ‘डिजिटल हब’ बनाउन पहल गर्न युवाहरुले सुझाएका छन्। तर त्यसमा पूर्वाधार, नीतिगत सहयोगको खाँचो रहेको उनीहरुको भनाई छ।  

पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको सहरको रुपमा मात्र नभई अब प्रविधिको सहरको रुपमा पनि विकसित गर्न सकिने उनीहरुको भनाई छ। प्रदेश राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि र डिजिटल उद्यमशीलताको नयाँ केन्द्रका रुपमा उन्मुख बनेपनि त्यसले गति लिन नसकेको उनीहरुको भनाई छ।  

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पोखरामा भेला भएका नीति निर्माता र विज्ञले गण्डकीलाई ‘डिजिटल हब’ बनाउन सकिने बारे बहस गरे। युवा उद्यमी मञ्च पोखरा च्याप्टरको आयोजन तथा पोखरा रिसर्च सेन्टरको साझेदारीमा भएको कार्यक्रममा प्रदेशसँग प्रविधि उद्यमशीलताको अवसर भएपनि पूर्वाधार, नीतिगत सहयोग, वित्तिय पहुँच, दक्ष जनशक्ति तथा संस्थागत समन्वयसँग सम्बन्धित चूनौती रहेकोले यस क्षेत्रको विकासलाई सीमित बनाएको उनीहरुको भनाई छ।  

यतिसम्म की प्रदेशको डिजिटल अर्थतन्त्रको उत्प्रेरकको रुपमा परिकल्पना गरिएको प्रस्तावित पोखरा आईटी पार्क अझै पूर्ण रुपमा संचालनमा आउन नसकेको उनीहरुको गुनासो छ। कार्यक्रममा पोखरा रिसर्च सेन्टरका सुजन रेग्मीले गण्डकी प्रदेशलाई डिजिटल इकोनोमी हब बनाउन सकिने बताए। त्यसका लागि पाँचवटा खुड्किला सहितको मार्गचित्र उनले प्रस्तुत गरे। रेग्मीले नीतिगत सुधार, दक्ष जनशक्ति, पूर्वाधार, लगानीमैत्री वातावरण र एकीकृत कार्यमञ्च भएमा यो लक्ष्य पूरा हुने बताए।

‘गण्डकी प्रदेशलाई डिजिटल हब बनाउन सकिन्छ। त्यसका लागि केही सुधार त गर्नैपर्छ। दक्ष जनशक्ति अभाव र लगानीमैत्री वातावरण हुने हो भने लक्ष्य पुरा पनि हुन्छ,’ रेग्मीले भने।  

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई डिजिटल सिटीका रुपमा विकास गर्ने महानगरको अभियानमा साथ दिन निजी क्षेत्र, आईटी उद्यमी, स्टार्टअप, प्रविधि व्यवसायी तथा युवा प्रतिभासँग आव्हान गरेको जानकारी दिए। अबको विकासमा प्रविधिलाई अनुसरण गरेर मात्र विकासमा फड्को मार्न सक्ने उनले बताए। त्यसैले सरकार एक्लैले होइन, निजी क्षेत्रको लगानी, प्रविधि, दक्षता र नवप्रवर्तनलाई जोडेर अघि बढ्नुपर्ने उनको भनाई छ।  

पोखरामा आईटी पार्क निर्माणलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाउने प्रस्ताव समेत आफुले प्रस्तुत गरेको उनले बताए। आईटी पार्कलाई रोजगारी, स्टार्टअप, रिमोट वर्क, डिजिटल उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रविधि हबका रुपमा विकास गर्न सकिने उनले बताए।  

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीका युवाको प्रतिभा, सीप र प्रविधिलाई उद्यम, रोजगारी र आर्थिक समृद्धिसँग जोड्न प्रदेश सरकार आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्दै निजी क्षेत्र, लगानीकर्ता, शैक्षिक संस्था र विकास साझेदारसँगको सहकार्यमा लगानीका सम्भावना खोज्न प्रतिबद्ध रहेको बताए।  

‘पोखरालाई पर्यटन राजधानीसँगै डिजिटल, नवप्रवर्तन र उद्यमशीलताको केन्द्र तथा गण्डकीलाई विश्वसँग जोडिएको डिजिटल अर्थतन्त्रको इकोसिस्टमका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘प्रदेश सरकारको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को लक्ष्यअनुरुप युवाको प्रतिभालाई अवसरमा, अवसरलाई उद्यममा र उद्यमलाई रोजगारीमा रुपान्तरण गर्दै गण्डकीलाई नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको केन्द्र बनाउने दिशामा अघि बढ्नेछ।’    

पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधिको पनि केन्द्र बनाउन सकिने बताए। पोखरा सहरलाई नै ‘डिजिटल नोम्याड’ का लागि उपयुक्त गन्तव्य बनाउने योजना रहेको पनि उनले बताए। मुख्यमन्त्रीले होटल र सार्वजनिक स्थललाई डिजिटल प्रमाणीकरण गर्ने र आइटी क्षेत्रका लागि आवश्यक नीति बनाउन सरकारले अधिकतम लचकता अपनाउने प्रतिबद्धता जनाए। ‘सरकारले नीतिगत रुपमा सघाउन तयार छ। पोखरा सहर नै डिजिटल नोम्याडको गन्तव्य बन्न सक्छ, त्यसका लागि प्रदेश सरकार तयार रहेको छ,’ उनले भने।

पोखरामा भएको यो संवादले गण्डकीको डिजिटल भविष्यका लागि ठोस आधार तयार पारेको आयोजकको भनाई छ। कार्यक्रममा पोखरा रिसर्च सेन्टरका प्रवेश सुवेदीले गण्डकी प्रदेशको सूचना प्रविधिको वर्तमान अवस्थाबारे तथ्यांक पेश गरेका थिए।  

मञ्चका अध्यक्ष इन्जिनियर सरोज कायस्थले सबैको पहलमा यस्ता कार्यले गति लिने बताए। प्रविधि उद्यमी, स्टार्टअप, फ्रिल्यान्सर, रिमोट वर्कर तथा शैक्षिक संस्थाले भोगिरहेका चुनौती पहिचान गर्ने, पोखरा र गण्डकी प्रदेशलाई डिजिटल नोम्याड तथा रिमोट वर्कका लागि आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने अवसर र अवरोध खोज्न यसले सघाउने उनले बताए। प्रविधि तथा नवप्रवर्तन क्षेत्रका विद्यमान नीति र संस्थागत सहयोग संयन्त्रको समीक्षा गर्ने, र प्रस्तावित पोखरा आईटी पार्कको वर्तमान अवस्था, चुनौती तथा भावी आवश्यकताको मूल्यांकन गर्ने लक्ष्य राखेको मञ्चले बताएको छ। 

प्रकाशित: २८ श्रावण २०८३ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App