नेपालमा स्टार्टअप तथा नवप्रवर्तनमा आधारित उद्योगमा संयुक्त अरब इमिरेट्स (यूएई)को लगानी भित्र्याउने सम्भावना बलियो बन्दै गएको छ।
नेपालमा स्टार्टअपको विकास, लगानीको वातावरण र यूएईका लगानीकर्तालाई नेपाली उद्यमीसँग जोड्ने विषयमा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीसहितको टोलीले नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीसँग भेटवार्ता गरेको हो।
भेटमा राजदूत अलशाम्सीले नेपालमा उद्योग तथा स्टार्टअप स्थापना गर्न आवश्यक वातावरण निर्माण गर्न सके यूएईका लगानीकर्तालाई आकर्षित गर्न सकिने बताए। सम्भावनायुक्त व्यवसायिक विचार, नवीन प्रविधि र लगानीयोग्य परियोजना पहिचान गरी व्यवस्थित रूपमा अघि बढाउन सके नेपाल यूएईका लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो।

उनले विशेषगरी सूचना प्रविधि तथा प्रविधिमा आधारित क्षेत्रमा सीप विकास, तालिम र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। युवालाई प्रविधिमा आधारित उद्यमतर्फ आकर्षित गर्न सके लगानीका अवसरसमेत विस्तार हुने उनको धारणा थियो।
स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष ज्ञवालीले भने स्टार्टअप अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी सातै प्रदेश र विश्वविद्यालयसम्म विस्तार गर्ने तयारी भइरहेको बताइन्।
उनका अनुसार विद्यार्थी, युवा तथा सम्भावित उद्यमीलाई व्यवसायिक सोच, व्यवसाय योजना, लगानी जुटाउने प्रक्रिया, बजार व्यवस्थापन, प्रविधिको प्रयोग तथा उद्यम सञ्चालनबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिनेछ।

ज्ञवालीले स्टार्टअपको अवधारणा बुझाउने मात्र नभई सम्भावनायुक्त विचारलाई परियोजनामा रूपान्तरण गर्ने, लगानीयोग्य बनाउने र स्वदेश तथा विदेशका लगानीकर्तासँग जोड्ने लक्ष्य रहेको बताइन्।
नेपालमा पूँजी, प्रविधि, बजार, सीप तथा मार्गदर्शनको अभावले कतिपय नयाँ व्यवसायले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र, विश्वविद्यालय, वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको बताइन्।

स्टार्टअप समिट नेपाल २०२६ ले प्रदेश तथा विश्वविद्यालयस्तरबाट सुरु हुने अभियानलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको स्वरूपमा विकास गर्ने लक्ष्य राखेको छ। युवालाई रोजगारी खोज्ने जनशक्तिभन्दा रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्ने अभियानको उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०८३ १७:२० बिहीबार





