११ कार्तिक २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन-जापान सम्बन्ध सुधार्न पुराना सहमति पालना गर्न सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले जापानको वर्तमान नेतृत्वलाई दुई देशबिच भएका पुराना सहमति पालना गर्दै सम्बन्धको राजनीतिक आधार जोगाउन आग्रह गरेका छन्।

जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको निधनप्रति समवेदना व्यक्त गर्दै उनले दुई देशबिचको सम्बन्ध सुधारमा जोड दिएका हुन्।

सीले दुई देशबिच भएका चार राजनीतिक दस्तावेजका प्रतिबद्धता पालना गर्न पनि आग्रह गरेका छन्। ती दस्तावेजमा सन् १९७२ को संयुक्त वक्तव्य, सन् १९७८ को शान्ति तथा मैत्री सन्धि, सन् १९९८ को संयुक्त घोषणापत्र र सन् २००८ को संयुक्त वक्तव्य समावेश छन्।

९० वर्षको उमेरमा हृदयाघातका कारण गत बिहीबार निधन भएका फुकुदाले आफ्नो कार्यकालमा चीनसँगको सम्बन्ध सुधार्न जोड दिएका थिए। सीले उनलाई इमानदार र जिम्मेवार राजनीतिज्ञका साथै चिनियाँ जनताको पुरानो मित्रका रूपमा स्मरण गरेका छन्।

सन् २०२५ नोभेम्बरमा जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमाथि चीनको सैन्य कदमले जापानको सुरक्षामा खतरा उत्पन्न गरेमा सेना परिचालन गर्न सक्ने संकेत दिएपछि दुई देशबिचको तनाव बढेको थियो। त्यसपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न सल्लाह दिनुका साथै सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने केही वस्तुको जापान निर्यातमा प्रतिबन्ध लगाएको थियो।

सीले चीन-जापान सम्बन्ध र एसियाको विकासमा फुकुदाले पुर्‍याएको योगदानलाई चीनले सम्झिरहने पनि बताएका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App