१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा नेपालले स्कटल्याण्डलाई मध्यम स्कोरमा रोक्न सफल भएको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै स्कटल्याण्डलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनमा सीमित पारेको हो। अब नेपालले जितका लागि १७१ रनको लक्ष्य पछ्याउनेछ।

स्कटल्याण्डका लागि ब्याटर माइकल जोन्सले विस्फोटक पारी खेल्दै नेपाललाई सुरुवाती दबाबमा राखेका थिए।

उनले मात्र ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रनको उत्कृष्ट योगदान दिए। जोन्सले अर्का ओपनर जर्ज मुन्सेसँग मिलेर पहिलो विकेटका लागि ८० रनको बलियो साझेदारी गरेका थिए।

मुन्सेले २९ बलमा २७ रन जोडे। मध्यक्रममा ब्रान्डन म्याकमुलनले १९ बलमा २५ रन बनाए पनि अन्य ब्याटरहरू नेपाली बलिङसामु टिक्न सकेनन्।

एक समय १५ ओभरमा १ विकेटको क्षतिमा १३१ रन बनाएर विशाल योगफलतर्फ अग्रसर स्कटल्याण्डलाई अनुभवी बलर सोमपाल कामीले रोके। सोमपालले आफ्नो ४ ओभरको स्पेलमा मात्र २५ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। उनले १६ औँ ओभरमा सेट ब्याटर माइकल जोन्स र ब्रान्डन म्याकमुलनलाई आउट गरेका थिए।

त्यस्तै, नन्दन यादवले अन्तिम ओभरहमारू कसिलो बलिङ गर्दै ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। कप्तान रोहित पौडेलले २ ओभरमा १२ रन खर्चेर १ विकेट र कुशल भुर्तेलले विपक्षी कप्तान रिची बेरिंग्टनको १ विकेट लिए।

१५ ओभरपछि स्कटल्याण्डले मात्र ३९ रन जोड्दा ६ विकेट गुमाएको थियो।

प्रकाशित: ५ फाल्गुन २०८२ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App