१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
खेल

एनपीएल: सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा सन्दीप

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा फ्रेन्चाइज टोली विराटनगर किंग्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

गत संस्करणमा खराब प्रदर्शन गरेर आलोचित बनेको विराटनगरले यस पटक भने त्रिवि क्रिकेट मैदानमा आफूलाई एक बलियो र उपाधि दाबेदार टोलीका रूपमा उभ्याएको छ।

जारी प्रतियोगितामा विराटनगरको कमब्याक र सफलताको केन्द्रविन्दुमा छन्- टोलीका मार्की खेलाडी तथा कप्तान सन्दीप लामिछाने। त्रिवि क्रिकेट मैदानमा चम्किरहेका सन्दीपले आफ्नो कप्तानी र बलिङ जादुमार्फत टोलीलाई उचाइमा पुर्‍याइरहेका छन्।

प्रतियोगितामा लगातार तीन खेल जितेर ह्याट्रिक गरिसकेको विराटनगरको विजय यात्रामा आज (बुधबार) भने पूर्णविराम लागेको छ। आफ्नो चौथो खेलमा चितवन राइनोजसँग पराजित भए पनि विराटनगरले प्रतियोगितामा आफूलाई बलियो टोलीका रूपमा स्थापित गरिसकेको छ। जारी एनपीएलमा हालसम्म खेलेका ४ खेलमध्ये विराटनगरले व्यहोरेको यो पहिलो हार हो।

टोली पराजित भए पनि कप्तान सन्दीप लामिछानेका लागि भने आजको खेल व्यक्तिगत उपलब्धिका हिसाबले सुखद रह्यो। चितवनविरुद्धको खेलमा पनि उनले आफ्नो लयलाई निरन्तरता दिँदै २ महत्त्वपूर्ण विकेट लिए। यो सफलतासँगै उनी जारी एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।

आजको खेलअघि सन्दीप, जनकपुर बोल्ट्सका मिलिन्द कुमार र काठमाडौं गोर्खाजका करण केसी समान ७–७ विकेटका साथ बराबरी अवस्थामा थिए। तर, चितवनविरुद्ध २ विकेट लिएसँगै सन्दीपको कुल विकेट संख्या ९ पुगेको छ। यससँगै उनी प्रतियोगिताकै सर्वाधिक विकेट टेकर बनेका छन्।

एनपीएलको पहिलो खेलदेखि नै सन्दीपले विकेट लिन छोडेका छैनन्। पोखराविरुद्धको आफ्नो पहिलो खेलमा सन्दीपले २ महत्वपूर्ण विकेट लिएर विराटनगरलाई जिततर्फ डोर्याएका थिए।

सन्दीपको कप्तानीमा उक्त खेलमा विराटनगरले एनपीएलकै इतिहासमा सबैभन्दा बढी रन बनाउने कीर्तिमानी टोलीको पहिचान बनाएको थियो। पहिलो खेलबाटै आफूलाई सावित गरेको विराटनगरले त्यसपछिका खेलहरूमा पनि पछाडि फर्केर हेर्नुपरेन।

आफ्नो दोस्रो खेलमा राजधानीको टोली काठमाडौं गोर्खाजको सामना गरेको विराटनगरले ५ विकेटको सहज जित हात पारेको थियो। गत वर्ष आफूलाई हराएको टोलीलाई पराजित गर्दै विराटनगरले बदला मात्र लिएन, अंक तालिकामा आफूलाई बलियो बनायो। उक्त खेलमा पनि सन्दीपले कसिलो बलिङ गर्दै १ विकेट आफ्नो नाममा लेखाएका थिए।

सन्दीपको कप्तानी र बलिङको असली परीक्षा र तारिफ भने साविक विजेता जनकपुर बोल्ट्सविरुद्धको खेलमा भयो। बलियो मानिएको जनकपुरलाई ९ रनले पराजित गर्दै विराटनगरले सबैलाई चकित बनायो। उक्त खेलमा सन्दीप वास्तविक ‘नायक’ बने।

जनकपुरविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। उपाधि जितिसकेको र बलियो ब्याटिङ लाइनअप भएको जनकपुरका लागि सन्दीप त्यस दिन ‘खलनायक’ सावित भए। उनको सोही प्रदर्शनले विराटनगरलाई ह्याट्रिक जित दिलाउन मुख्य भूमिका खेल्यो।

जनकपुरविरुद्धको खेलपछि जनकपुरका मुख्य प्रशिक्षक तथा वेस्ट इन्डिजका दिग्गज क्रिकेटर शिवनारायण चन्द्रपौलले पनि सन्दीपको खुलेर तारिफ गरे।

‘सन्दीप सधैं नै राम्रो बलर हुन्, त्यही कारण मैले उनलाई विगतमा सिपिएल (क्यारेबियन प्रिमियर लिग) मा छनोट गरेको थिएँ,’ प्रशिक्षक चन्द्रपौलले भने, ‘उनी जोस र जाँगरले भरिएका खेलाडी हुन्।’

आफ्नो प्रदर्शन र टोलीको लयबाट सन्दीप पनि निकै खुसी देखिएका छन्। जनकपुरविरुद्धको जितपछि संचारकर्मीसँग कुरा गर्दै उनले आफू एनपीएललाई ‘इन्जोय’ गरेर खेलिरहेको बताए।

मुस्कुराउँदै उनले भनेका थिए, ‘म आफ्नो र टिमको प्रदर्शनबाट खुसी छु, अब मेरो नजर अर्को खेलमा छ।’

गत संस्करणको खराब नतिजालाई बिर्साउँदै यस पटक विराटनगर किंग्सले गरेको कमब्याक सायदै थोरै क्रिकेटप्रेमीले सोचेका थिए। तर, टोलीको सन्तुलित प्रदर्शन र सन्दीप लामिछानेको परिपक्व कप्तानीले अहिले त्रिवि मैदानमा विराटनगरको चर्चा चुलिएको छ।

आजको हारले अपराजित यात्रामा ‘ब्रेक’ लागे पनि सन्दीपले आफूलाई प्रमाणित गरिसकेका छन्।उनको नेतृत्वमा विराटनगर किंग्सले आगामी खेलहरूमा कस्तो प्रदर्शन गर्छ, त्यो हेर्न बाँकी नै छ।

प्रकाशित: १० मंसिर २०८२ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App