२१ असार २०८३ आइतबार
image/svg+xml
खेल

कर्णाली प्रदेशस्तरीय ‘पञ्चकोशी कप’को उपाधि सल्यानलाई

दैलेखको दुल्लुमा असार १४ देखि १७ गतेसम्म सञ्चालन भएको कर्णाली प्रदेश स्तरीय प्रथम पञ्चकोशी कप भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ। त्यस्तै द्वितीय स्थानमा सुर्खेत रहेको छ भने तृतीय स्थानमा रुकुम (पश्चिम) तथा सान्त्वनामा कालिकोट रहेको जनाइएको छ।

कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता ‘पञ्चकोशी कप–२०८३’ मा कर्णाली प्रदेशका १० जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहेको थियो। आयोजक कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन्। कर्णाली प्रदेशमा आयोजना हुने भलिबल प्रतियोगितामध्ये यो उच्च पुरस्कार राशिको प्रतियोगितामध्ये एक हो।

प्रतियोगितामा सहभागी प्रत्येक जिल्लाबाट १० जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक सहभागी भएका छन्। सहभागी टोलीलाई यातायात खर्च (गाडी भाडा) सहित बसोबास र खानपानको व्यवस्था आयोजकले व्यहोरेको थियो। यसले गर्दा जिल्लाहरूलाई आर्थिक भार नपर्ने र उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित हुने अपेक्षा गरिएको छ। प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा कर्णाली प्रदेश भलिबल संघको आयोजनामा सम्पन्न भएको थियो।

आयोजकका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा भलिबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, जिल्लाबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण तथा प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

दुल्लुमा आयोजित यस प्रतियोगिताले खेलकुद गतिविधिसँगै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रदेशभरका खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १७ असार २०८३ १९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App