२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

दरबन्दी ओगटेर ‘बेपत्ता’ हुने कर्मचारीको जागिर चैट !

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कार्यालयमा उपस्थित नभई दरबन्दी मात्र ओगट्ने कर्मचारीमाथि कारबाही सुरु गरेकी छन्।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्षसमेत रहेकी मन्त्री चौधरीको पहलमा लामो समयदेखि सम्पर्कविहीन नार्कका दुई कर्मचारीलाई सेवाबाट हटाइएको छ।

बर्खास्त हुनेमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एस-१ नमिता भट्टराई छन्।

कर्मचारी प्रशासन विनियमावली, २०६२ बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो। नार्कबाट सुरु भएको यो एक्सन मन्त्रालयअन्तर्गतका अन्य विभाग र केन्द्रहरूमा पनि विस्तार गरिने मन्त्री चौधरीले चेतावनी दिएकी छन्।

‘सुशासन र जनतामुखी सेवा प्रवाह सरकारको प्राथमिकता हो,’ उनले भनिन्, ‘दरबन्दी ओगट्ने तर कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई अब छुट दिइँदैन।’

कारबाहीअघि परिषद्ले ती कर्मचारीको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा सातदिने सूचना प्रकाशित गरी सम्पर्कमा आउन आग्रह गरेको थियो।

तोकिएको अवधिमा पनि उनीहरू सम्पर्कमा नआएपछि परिषद्को कार्यकारी समितिको निर्णयअनुसार बर्खास्त गरिएको मन्त्री चौधरीले बताइन्।

प्रकाशित: २१ असार २०८३ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App