डिफेन्डिङ च्याम्पियन सलहेस युवा क्लब सिराहा चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडीले भरिएको सातदोबाटो युवा क्लब ललितपुरलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सलहेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा सलहेसका फागुराम थारु, सनिष श्रेष्ठ, निषकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरे । रोहन कार्कीको प्रहार भने सातदोबाटोका गोलरक्षक विशाल सुनारले बचाएका थिए ।
सातदोबाटोका तर्फबाट प्रहार गरिएका पाँचमध्ये विशाल भण्डारी, सिला र श्याम मुर्मुले मात्र गोल गर्न सके । विश्व लामा र श्यामेल सुनुवारको प्रहारलाई सलहेसका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट रोके ।
टाइब्रेकरमा निर्णायक भूमिका खेलेका दीप कार्की नै खेलको म्यान अफ द म्याचसमेत घोषित भए । उनले पुरस्कारस्वरूप ७ हजार रुपैयाँ बराबरको नगदेबाली अलैंची प्राप्त गरे ।
खेलमा सुरुआती अग्रता भने सलहेसले लिएको थियो । फागुराम चौधरीले हेडरमार्फत उत्कृष्ट गोल गर्दै सलहेसलाई १–० को अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन ।
सातदोबाटोका समिर तामाङले डिबक्सको दायाँ भागबाट उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
सलहेस तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको विजेता हो भने दोस्रो संस्करणमा उपविजेता बनेको थियो । लगातार प्रभावशाली प्रदर्शन गर्दै आएको सलहेसले अब सेमिफाइनलमा भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबको सामना गर्नेछ ।
प्रतियोगिताको क्वार्टरफाइनल चरणको अन्तिम खेल सोमबार हुँदैछ । उक्त खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ आमनेसामने हुनेछन् ।
प्रकाशित: १४ भाद्र २०८३ १८:३६ आइतबार





