रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले प्रभावित नागरिकको पीडामा साथ दिन उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा सरकारी राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
बाढीमा परी ज्यान गुमाउनेप्रति बैंक परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने अपेक्षा बैंकले गरेको छ ।
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ । आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा सामाजिक दायित्वअन्तर्गत यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
प्रकाशित: १४ भाद्र २०८३ १८:३२ आइतबार





