५ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप: सातौं पटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यमा नेपाल

उपविजेतामा ६ पल्ट सीमित नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतमा जारी साफ महिला च्याम्पियनसिपको आठौं संस्करणको फाइनलमा पुग्दै पहिलोपल्ट उपाधि जित्ने लक्ष्य कायमै राख्न चाहन्छ ।

सन् २०१० देखि सुरु भएको महिला साफ च्याम्पियनसिपमा पछिल्ला सात संस्करणमध्ये नेपालले छैटौंपल्ट उपाधिका लागि प्रतिस्पर्धा गरेको छ । तर, फाइनल प्रतिस्पर्धामा नेपाल सदैव असफल हुँदै आएको छ । उपाधिविहीन भए पनि दक्षिण एसियाली महिला फुटबलमा नेपाली टोलीलाई सदैव दाबेदारमध्ये एकका रूपमा हेरिने गरेको छ । नेपाली टोलीले पनि उपाधिका लागि चुनौती दिँदै आएको छ । यसपल्ट नेपालसँग स्टार स्ट्राइकर सावित्रा भण्डारी र सविता रानामगरजस्ता फरवार्ड छैनन् । महत्त्वपूर्ण मिडफिल्डर प्रीति राईले पनि समूहचरणका खेल खेलिनन् । भारतमा औसत प्रदर्शन गरे पनि नेपाली टोली उपाधि जित्ने धोको पूरा गर्ने लक्ष्यमा छ । तर, त्यसका लागि बुधबार नेपालले सेमिफाइनलमा दुईपल्टको च्याम्पियन बंगलादेशको चुनौती पार गर्नुपर्नेछ ।

डिफेन्डिङ च्याम्पियन भए पनि बंगलादेश यसपल्ट आफ्नो स्वाभाविक लयमा देखिएको छैन । पछिल्ला समय भारतलाई हराउने बंगलादेश आइतबार सोही टोलीसँग ३–० ले पराजित हुन पुग्यो । यद्यपि, संगठित फुटबल खेल्ने बंगलादेशको टोली नेपालसँग भने हाबी हुन सक्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भने दुवै टोलीको सम्भावना ५०÷५० प्रतिशत रहेको र थोरै अवसरमा सदुपयोग गर्ने टोलीले नै उपाधि जित्ने बताएका छन् । ‘बंगलादेशसँग कडा प्रतिस्पर्धा गर्नुको विकल्प छैन । प्रीति आएपछि थप हौसला बढेको छ,’ प्रशिक्षक न्यौपानेले भने, ‘बंगलादेशसँग खेल्न रणनीति बनाएका छौं । त्यसमा सफलता पाउनेछौं । यो टोलीविरुद्ध थोरै अवसर पाउँछौं । त्यसलाई सदुपयोग गर्न सकेनौं भने गाह्रो हुन्छ । साथै संगठित रक्षापंक्तिमा पनि जोड दिनेछौं ।’  

उपाधि जित्ने लक्ष्य कायमै राख्न नेपालले बुधबार सेमिफाइनलमा बंगलादेशलाई हराउनु पर्नेछ । समूहचरणमा तुलनात्मक रूपमा कमजोर मानिएका भुटान र श्रीलंकाविरुद्ध नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेन । मिडफिल्डर प्रीति जोडिएपछि हौसिएको नेपालले बंगलादेशलाई हराउने आत्मविश्वास राखेको छ । उनी कम्बोडियामा व्यावसायिक लिग खेलेर सोमबार मात्र नेपाली टोलीसँग जोडिएकी हुन् । पहिलो खेलको तुलनामा दोस्रो खेलमा धेरै सुधार आएको प्रशिक्षक न्यौपाने बताउँछन् । यद्यपि, पहिलो र दोस्रो खेलमा जस्तो बंगलादेशसँग खेल्न सहज नहुनेमा आफू तयार रहेको प्रशिक्षक न्यौपानेले उल्लेख गरे । एसियन कप र पछिल्ला प्रतियोगिता खेल्दा गर्दै आएको प्रदर्शन बंगलादेशले यसपल्ट देखाउन नसकेको पनि न्यौपानेले उल्लेख गरे ।

यसको अर्थ बंगलादेश कमजोर नरहेको र त्यसका लागि आफू तयार रहेको उनी बताउँछन् । पछिल्ला सात संस्करणमध्ये नेपाल  छ पल्ट फाइनलमा पुगेको छ । त्यसमध्ये नेपाल दुईपल्ट फाइनलमा बंगलादेशसँग पराजित भएको छ । पछिल्ला दुई संस्करणमा नेपाल र बंगलादेश फाइनलमा खेलेका थिए । यसपल्ट सेमिफाइनलमा नै यी दुई प्रतिस्पर्धा गर्दै छन् । नेपाल र बंगलादेश दुवै टोली पछिल्ला संस्करण जस्तो बलिया देखिएका छैनन् । बंगलादेश भारतसँग पराजित भएर आएको हो भने नेपालले पनि कमजोर भुटानसँग निकै संघर्ष गरेको थियो । तर, नेपालका प्रशिक्षक न्यौपानेले सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । बंगलादेश बलियो टोली रहेको र त्यसअनुरूप नै चुनौती दिने उनको विश्वास छ ।

पछिल्ला दुई खेलमा स्ट्राइकरलाई त्यतिखेर अवसर बनाउन नसकिएको प्रशिक्षक न्यौपानेले उल्लेख गरे । प्रीतिको आगमनपछि त्यो क्षेत्रमा सुधार आउने उनको विश्वास छ । सबै खेलाडीले फिट रहेकाले राम्रा खेल खेल्ने आशा गरिएको छ । बंगलादेशका पिटर बटलरले पनि नेपालसँग हुने सेमिफाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने बताएका छन् । पछिल्ला समय बंगलादेशको महिला फुटबलमा विवाद सिर्जना भइरहेको छ । समूह चरणको प्रदर्शनले पनि त्यसतर्पm संकेत गर्छ । दक्षिण एसियाली फुटबलमा सबैभन्दा कमजोर रहँदै आएको माल्दिभ्सले पनि एक समय बंगलादेशलाई २–२ को अवस्थामा पु¥याएको थियो । तर, त्यो खेल अन्ततः बंगलादेशले ४–२ ले जित्यो ।

भारतविरुद्ध भने बंगलादेशको कमजोर पक्ष छताछुल्ला नै भयो । भारतले डिफेन्डिङ च्याम्पियन बंगलादेशमाथि ३–० को जित निकाल्यो । भारतसँग सात वर्षपछिको हारबाट बंगलादेशको महिला टोली मानसिक रूपमा प्रभावित बनेको छ । बंगलादेशका सञ्चारमाध्यमका अनुसार सोमबार गोवामा टोलीको नियमित प्रशिक्षण तालिका थिएन । त्यसको सट्टा खेलाडीहरूले रिकभरी (पुनःस्थापना) सत्रमा सहभागिता जनाए, जुन सामान्य रूपमा सञ्चालन गरिने कार्यक्रम हो । कुनै पनि खेलाडीले प्रत्यक्ष रूपमा सञ्चारकर्मीसँग कुरा गरेनन् । तर, बंगलादेश फुटबल महासंघ (बिएफएफ) को मिडिया टोलीले जारी गरेको आधिकारिक विज्ञप्तिमा गोलकिपिङ प्रशिक्षक मसुद अहमदले टोलीको अवस्थाबारे धारणा राखेका छन् ।  

‘भारतसँग योजनाअनुसार खेल्न सकेनौं । खेलाडीहरूलाई व्यक्तिगत जिम्मेवारी दिइएको थियो । केहीले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे भने केहीले सकेनन् । भारतजस्तो टोलीविरुद्ध सबैले सामूहिक रूपमा राम्रो प्रदर्शन गर्न नसके सजाय भोग्नुपर्छ, र हामीसँग पनि त्यही भयो,’ भारतविरुद्ध टोलीको कमजोरी स्वीकार गर्दै उनले भने । उनले नेपालविरुद्धको खेलका लागि टोली मानसिक रूपमा तयार रहेको बताए । ‘हामी खेलाडीहरूसँग लगातार संवाद गरिरहेका छौं । समस्या कसरी समाधान गर्ने भन्ने विषयमा काम गरिरहेका छौं । नेपालविरुद्धको खेलमा खेलाडीहरूले पुनरागमन गर्नेछन् भन्ने आशा गरेका छौं,’ उनले भनेका छन् ।  

अघिल्लो खेलका क्रममा गोलकिपर मिली अख्तरको टाउकोमा चोट लागेको थियो, जसले केही चिन्ता बढाएको छ । तर गोलकिपिङ प्रशिक्षक अहमदले अर्को खेलका लागि तयार हुने आशा गरेका छन् । बंगलादेशसँग यसपल्ट केही अनुभवी डिफेन्स छैनन् । उनीहरू टोलीमा नै स्थान बनाउन असफल भए । त्यसको असर देखिएको बंगलादेशी समर्थकको दाबी छ ।  यही कमजोरीको फाइदा उठाउने लक्ष्यमा नेपाली टोली छ । तर, त्यसका लागि नेपाली टोलीले उत्कृष्ट खेल देखाउनुपर्नेछ । दोस्रो सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । भारत पाँचपल्टको च्याम्पियन हो । यसपल्ट भारतले दक्षिण एसियाका उदीयमान टोली बंगलादेशविरुद्ध ३–० को जित निकाल्दै उपाधिको बलियो दाबेदारी दिएको छ । भुटान भने अहिलेसम्म सेमिफाइनलमा पुग्न सकेको छैन । 

प्रकाशित: १९ जेष्ठ २०८३ २०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App