२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

उपसभामुख ठाकुरलाई सुदन किराँतीको सन्देश: एउटै उद्देश्य भएमात्र पार्टी बलियो बन्छ

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पार्टीबाट सार्वजनिक पदमा पुगेका नेताहरूले संगठनको नीति, सिद्धान्त र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै उनले उपसभामुख रबीकुमारी ठाकुरप्रति असन्तुष्टि व्यक्त गर्दै पदमा पुगेपछि पार्टीको योगदानलाई सम्मान गर्न नसकेको आरोप लगाए। पार्टीको सिफारिसमा नियुक्त गरिएका कर्मचारीलाई हटाउने निर्णयप्रति उनले आपत्ति जनाउँदै यस्तो कार्यले संगठनप्रतिको जिम्मेवारी कमजोर बनाउने टिप्पणी गरे।

किराँतीले श्रम संस्कृति पार्टीको समर्थनमा निर्वाचित वा नियुक्त भएका मेयर, सांसद, मन्त्री तथा अन्य जनप्रतिनिधिले व्यक्तिगतभन्दा पनि पार्टीको साझा नीति र निर्णयअनुसार काम गर्नुपर्ने बताए। उनका अनुसार संगठनभित्र एउटै उद्देश्य, स्पष्ट दिशा र अनुशासन कायम भए मात्र पार्टी थप सशक्त बन्न सक्छ।

उनले पार्टीलाई संस्थागत र प्रणालीगत ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै तीन प्रमुख लक्ष्य अघि सारे। ती लक्ष्यमा पार्टीलाई देशकै पहिलो शक्ति बनाउने, पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको भूमिकामा पुर्‍याउने तथा अध्यक्षलाई सर्वमान्य नेताका रूपमा स्थापित गर्ने उद्देश्य रहेको उनले उल्लेख गरे।

किराँतीले पार्टीका शुभेच्छुकदेखि नेतृत्व तहसम्म सबैले व्यक्तिगत धारणा भन्दा पनि पार्टीको आधिकारिक लाइनलाई प्राथमिकता दिनुपर्ने बताए। स्पष्ट विचार, प्रभावकारी प्रणाली र अनुशासित व्यवहारले मात्रै पार्टीलाई अन्य राजनीतिक शक्तिभन्दा आकर्षक र बलियो बनाउन सकिने उनको भनाइ थियो।

प्रकाशित: १८ श्रावण २०८३ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App