१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बौद्ध आस्थासँगै थाइल्यान्डमा मदिरा त्याग्ने अभियान बढ्दै

हात जोडेर र शिर निहुराउँदै वासाना नाक–उम्माले तीन महिनासम्म मदिरा सेवन नगर्ने सङ्कल्प गरिन्। सार्वजनिक स्वास्थ्य र आध्यात्मिकतालाई जोड्ने मदिरा त्याग अभियानमा सहभागी हुने लाखौँ थाई नागरिकमध्ये उनीपनि एक हुन्।

बैङ्ककको पश्चिममा रहेको सामुत साखोनस्थित एक बौद्ध मन्दिरमा सङ्कल्प गरेकी ४२ वर्षीया वासानाले आफू विगतमा अत्यधिक मदिरा सेवन गर्ने गरेको बताइन्।

‘म यति धेरै मदिराले मात्थेँ कि मेरा छोराछोरीले मेरो हेरचाह गर्नुपर्थ्यो’, वासनाले एएफपीसँग भनिन्।

एक आफन्तको आग्रहमा उनी ‘खाओ फान्सा’को अवसरमा मदिरा त्याग अभियानमा सहभागी भएकी थिइन्। यो बौद्ध धर्मावलम्बीहरूको तीन महिने आत्मचिन्तन र अनुशासनको अवधि हो, जसलाई क्रिस्चियन धर्मको ‘लेन्ट’ पर्वसँग तुलना गरिन्छ।

‘सुरुमा मलाई अझै मदिरा पिउने इच्छा हुन्थ्यो। पसलमा रक्सी वा बियर किनेका मानिस देख्दा मलाई पनि पिउन मन लाग्थ्यो’,उनले भनिन्, ‘तर मैले आफैँलाई सम्झाएँ—यो केबल तीन महिनाको कुरा हो।’

सन् २०२४ मा पहिलो पटक तीन महिना मदिरा त्यागेकी वासानाले त्यसपछि पुनः मदिरा सेवन सुरु गरे पनि मात्रा घटाइन्। यस वर्ष उनी लगातार तेस्रो पटक मदिरा त्यागको सङ्कल्प गर्न सामुत साखोनमा आयोजित कार्यक्रममा सहभागी थिइन्।

बौद्ध धर्ममा मदिरा तथा अन्य मादक पदार्थबाट टाढा रहनुलाई महत्वपूर्ण अनुशासनका रूपमा लिइन्छ। तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को २०२४ को तथ्याङ्कअनुसार, ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या बौद्ध धर्मावलम्बी रहेको थाइल्यान्ड एसियामा प्रतिव्यक्ति मदिरा सेवनको दर उच्च भएका मुलुकमध्ये एक हो।

यही अवस्थालाई सम्बोधन गर्न सन् २००३ मा ‘बौद्ध लेन्ट’ अभियान सुरु गरिएको थियो। गत वर्ष यस अभियानमा ८० लाखभन्दा बढी मानिस सहभागी भएको आयोजकहरूले बताएका छन्।

आध्यात्मिक प्रेरणा

यस वर्ष ‘खाओ फान्सा’ सामुत साखोनको ग्रामीण क्षेत्रमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको थियो। कार्यक्रममा भिक्षुलाई दान दिने, परम्परागत नृत्य प्रस्तुत गर्ने र मदिरा त्यागको प्रतिज्ञा गर्ने कार्यक्रम आयोजना गरिएको थियो।

दर्जनौँ मानिसले स्थानीय ‘सालेङ’ (साइडकार जडित स्कुटर) मा र्‍याली निकाल्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गरेका थिए।

६६ वर्षीय फायोम रक्षाले छ वर्षअघि अभियानमा सहभागी भएपछि मदिरा पूर्ण रूपमा त्यागेको बताइन्।

‘मेरा छोराछोरी मप्रति लज्जित हुन्थे, किनकि म दैनिक मातेर हिँड्थेँ र उनीहरूको वास्ता गर्दैनथेँ’, उनले भनिन्। फायोमले विगतमा आफ्नो अधिकांश पैसा मदिरामै खर्च हुने गरेको बताइन्।

उनले अहिले अरूलाई पनि मदिरा त्यागका लागि प्रयास गर्न आग्रह गर्दै भनिन्, ‘सबैले मैले जस्तै प्रयास गरून् र सकारात्मक परिवर्तनतर्फ अघि बढून् भन्ने मेरो चाहना हो।’

स्वास्थ्यसँग जोडिएको अभियान

विश्वका विभिन्न देशमा स्वास्थ्य सुधारका लागि मदिरा सेवन घटाउने वा त्याग्ने अभियान बढ्दै गएका छन्।

थाइल्यान्डको ‘बौद्ध लेन्ट’ अभियानले भने धार्मिक तथा आध्यात्मिक आधारमार्फत मानिसलाई प्रेरित गर्ने गरेको अभियानका क्षेत्रीय स्वयंसेवक उबोलवान कोङ्गसावाङले बताए।

‘जब मानिसहरूले बुद्धको प्रतिमासामु, मन्दिरमा वा समुदायमा प्रतिज्ञा गर्छन्, उनीहरू आफ्नो वचन पूरा गर्न थप प्रतिबद्ध हुन्छन्’, उनले भने।

अभियानका आयोजकहरूले यस वर्ष मदिरा पूर्ण रूपमा त्याग्नुभन्दा पनि सेवन घटाउँदा हुने स्वास्थ्य लाभ, पारिवारिक सम्बन्धमा सुधार र आर्थिक बचतबारे जनचेतना फैलाउने रणनीति अपनाएका छन्।

सरकारी निकाय थाई स्वास्थ्य प्रवर्धन फाउन्डेसनका निर्देशक डा पोङथेप वोङवाचरापाइबुनले भने, ‘हाम्रो लक्ष्य सबैले पूर्ण रूपमा मदिरा त्याग्नुपर्छ भन्ने होइन। धेरै मानिसले सेवन घटाउँछन् र त्यसबाट हुने स्वास्थ्य लाभ अनुभव गर्छन्, जुन आफैँमा सफलता हो।’

‘स्टप ड्रिङ्किङ नेटवर्क’ की प्रमुख तीरा वाचराप्रानीले अभियानको उद्देश्य व्यक्तिगत रूपमा मदिरा सेवन घटाउनु मात्र नभई समाजमा रहेको मदिरा सेवनको संस्कृतिमा परिवर्तन ल्याउनु रहेको बताए।

‘हामी पिउने संस्कृतिलाई परिवर्तन गर्न खोजिरहेका छौँ, केबल व्यक्तिगत सेवन घटाउन होइन’, उनले भने, ‘हाम्रो प्रयास बौद्ध लेन्टको अवधिभन्दा बाहिर पनि जारी रहनेछ, ताकि समुदायहरूले दैनिक जीवनमा मदिरा कम गर्न सकून्।’

प्रकाशित: १८ श्रावण २०८३ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App