दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ च्याम्पियनसिपअन्तर्गतको उद्घाटन खेलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ।
बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७-० ले हरायो। भारतको लागि अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई-दुई गोल गर्दा जुलानले एक गोल गरिन्।
भारतलाई पहिलो सफलता अविस्ताले दिलाएकी थिइन्। उनले खेलको १६औँ मिनेटमा भारतलाई अग्रता दिलाइन्।
त्यसपछि पहिलो गोल भएको १० मिनेट नबित्दै निराले गोल गरिन्। उनले खेलको २६औँ मिनेटमा गोल गरिन्। भारतको लागि तेस्रो गोल अनुष्का कुमारीले गरिन्। उनले खेलको ३४औँ मिनेटमा गोल गर्दै खेललाई ३-० को फराकिलो अन्तरमा ल्याइन्।
अविस्ताले अर्को गोल खेलको ४२औँ मिनेटमा गरिन्। पहिलो हाफको अतिरिक्त समयमा गोल गरेर जुलानले भारतको लागि पाँचौं सफलता दिलाइन्। नेपाल पहिलो हाफमा नै ५-० को अन्तरले पछि परेको थियो।
त्यसपछि खेलको ५६औँ मिनेटमा पुन: निराले गोल गरिन्। छैटौं गोल भएको पाँच मिनेटपछि अनुष्काले अर्को गोल जोडिन्।
आजबाट सुरु भएको प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता रहेको छ। प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ।
नेपालले अब दोस्रो खेल अगस्ट २२ मा आयोजक राष्ट्र भुटानसँग खेल्नेछ। त्यस्तै, नेपाल र बंगलादेशबीचको खेल अगस्ट २४ मा हुनेछ।
प्रकाशित: ४ भाद्र २०८२ १७:५३ बुधबार





