दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुरुष साफ च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ। पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताले अन्ततः निश्चित मिति पाएको हो।
साफ कार्यसमितिको बैठकले बंगलादेशलाई आयोजकको जिम्मेवारी दिएको भए पनि नेपालको सहभागिता भने अझै निश्चित हुन सकेको छैन। फिफाको निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने अवस्था कायम छ।
यदि प्रतियोगिता सुरु हुनुअघि फिफाले एन्फामाथिको निलम्बन फुकुवा गरेमा मात्र नेपालले साफ च्याम्पियनसिप खेल्ने सम्भावना रहनेछ। अन्यथा नेपाल प्रतियोगिताबाट बाहिर रहनेछ।
साफ च्याम्पियनसिप सुरुआतमा सन् २०२५ मै ‘होम एन्ड अवे’ ढाँचामा आयोजना गर्ने योजना बनाइएको थियो। तर प्रायोजक, बजेट र प्राविधिक व्यवस्थापनका कारण प्रतियोगिता एक वर्षपछि सारिएको थियो।
पछि श्रीलङ्कामा केन्द्रीय प्रतियोगिताका रूपमा आयोजना गर्ने प्रस्ताव पनि अघि बढेको थियो। तर प्राविधिक तथा व्यवस्थापकीय कठिनाइ देखाउँदै श्रीलङ्काले आयोजक बन्न असमर्थता जनाएपछि उक्त योजना कार्यान्वयन हुन सकेन।
अन्ततः साफले प्रतियोगिता बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको छ भने नेपाली फुटबल टोलीको सहभागिता फिफाको आगामी निर्णयमा निर्भर रहनेछ।
प्रकाशित: ५ श्रावण २०८३ १३:३१ मंगलबार


-600x400.jpg)


