२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

प्लेबक्स एरेनामाथि रोयलको रोमाञ्चक जित

रोयलले जारी नेसनल बास्केटबल लिग (एचजेएनबिएल) २०२६ मा भएको पहिलो खेलमा प्लेबक्स एरेनामाथि रोमाञ्चक जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा रोयलले आइतबार प्लेबक्समाथि ७६–७३ को रोमाञ्चक जित निकालेको हो। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको लिगमा आइतबार रोयल र प्लेबक्सले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे।

रोयलले पहिलो क्वार्टर १६–१२ र दोस्रो क्वार्टर १८–१४ ले आफ्नो पक्षमा पार्‍यो। यससँगै पहिलो हाफमा रोयलले ३४–२६ को अग्रता बनाएको थियो। तेस्रो क्वार्टरमा दुवै टोली २०–२० अंकको बराबरीमा रहे। चौथो क्वार्टरमा प्लेबक्सले उत्कृष्ट प्रदर्शन गर्‍यो। यो प्रतिस्पर्धा प्लेबक्सले २७–२२ ले आफ्नो पक्षमा पारे पनि पर्याप्त भएन। रोयलका अनिल पुनले सर्वाधिक २१ अंक स्कोर गरे। उनी म्यान अफ दी म्याच घोषित भए।  

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ। सुरुआती दुई खेल जित्दै आर्मी लयमा देखिएको थियो तर शनिबार राति भएको खेलमा आर्मी टाइम्स इन्टरनेसनल कलेजसँग ८०–६८ ले पराजित हुन पुग्यो। आर्मीले पहिलो क्वार्टरमा १५–१४ को झीनो अग्रता बनाएको थियो। दोस्रो क्वार्टर टाइम्सले २३–१४ ले आफ्नो पक्षमा पार्‍यो। यससँगै पहिलो हाफसम्म टाइम्सले ३७–२९ को अग्रता बनायो। तेस्रो क्वार्टर प्रतिस्पर्धात्मक बन्यो। यस क्वार्टरमा दुवै टोलीले २१–२१ अंक स्कोर गरे। टाइम्सले चौथो क्वार्टरमा पनि लय कायम राख्यो।

यस क्वार्टरलाई टाइम्सले २२–१८ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो। टाइम्सका लागि मनीष केसीले सर्वाधिक २२ अंक स्कोर गरे। उनी म्यान अफ दी म्याच घोषित भए। एचजेएनबिएलमा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

डबल राउन्ड रोबिनका आधारमा सञ्चालन भइरहेको लिगमा कुल ५६ खेलमा प्रतिस्पर्धा हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफअन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ। लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।

प्रकाशित: २ चैत्र २०८२ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App