रोहित शर्मा पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन्। फ्रेन्चाइजीले शुक्रबार यसको घोषणा गरेको हो। रोहितले आईपीएल २०२७ मा टोलीको कमान सम्हाल्नेछन्। उनले हार्दिक पाण्ड्याको स्थान लिनेछन्।
रोहितले यसअघि ११ सिजन मुम्बईको कप्तानी गरिसकेका छन्। उनको नेतृत्वमा टोलीले ५ पटक आईपीएलको उपाधि जितेको थियो। यसका साथै सन् २०१३ मा च्याम्पियन्स लिग टी-२० को उपाधिसमेत मुम्बईले जितेको थियो।
सन् २०२४ को सिजनअघि रोहितको स्थानमा हार्दिकलाई कप्तान बनाइएको थियो। तर, टोलीको खराब प्रदर्शनपछि व्यवस्थापनले पुनः रोहितलाई नै कप्तानीको जिम्मेवारी सुम्पिएको हो।
मुम्बईले पञ्जाब किङ्ग्ससँगको ट्रेडमार्फत भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याएको छ। उनी १८ करोड भारतीय रुपैयाँ पारिश्रमिकमा मुम्बईमा आबद्ध हुनेछन्।
अर्कोतर्फ, हार्दिक पाण्ड्या पञ्जाब किङ्ग्स गएका छन्। उनको नयाँ पारिश्रमिक १८ करोड भारतीय रुपैयाँ तय गरिएको छ। जुन यसअघि १६.३५ करोड भारतीय रुपैयाँ थियो।
आईपीएल २०२७ को अक्सनअघि मुम्बई इन्डियन्सले पूरै कोचिङ स्टाफ परिवर्तन गरेको छ। महेला जयवर्धनेको स्थानमा वेस्ट इन्डिजका पूर्वक्रिकेटर किरोन पोलार्ड मुख्य प्रशिक्षक बनेका छन्।
पूर्वभारतीय क्रिकेटर रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक बनाइएको छ।
यस्तै, न्युजिल्यान्डका पूर्वतीव्र गतिका बलर मिचेल म्याक्लेनाघन बलिङ प्रशिक्षक, टी. दिलीप फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णी डेभलपमेन्ट बलिङ प्रशिक्षक नियुक्त भएका छन्।
रोहित न्युजिल्यान्ड भ्रमणमा जानुअघि फ्रेन्चाइजीले उनीसँग कुराकानी गर्दै पुनः कप्तान बन्न आग्रह गरेको थियो। त्यसक्रममा रोहितले तिलक वर्मालाई कप्तान बनाउने सुझाव दिएका थिए। यद्यपि, टोली व्यवस्थापनको बारम्बारको अनुरोधपछि रोहित कप्तानी सम्हाल्न सहमत भएका हुन्।
फ्रेन्चाइजीले २७ नोभेम्बर २०२३ मा गुजरात टाइटन्सबाट ट्रेड गरी हार्दिक पाण्ड्यालाई भित्र्याएर कप्तान बनाएको थियो। तर, पाण्ड्याको कप्तानीमा टोलीको प्रदर्शन सुध्रिन सकेन।
ड्रेसिङ रुममा मनमुटावको स्थिति बनेको र गुटबन्दी भएको भन्ने केही रिपोर्टसमेत सार्वजनिक भएका थिए। यद्यपि, यसबारे टोली वा व्यवस्थापनले कुनै प्रतिक्रिया दिएको छैन।
लगातार बदलिने रणनीतिको असर टोलीको प्रदर्शनमा पर्यो। हार्दिकको कप्तानीमा पछिल्ला ३ सिजनमा मुम्बई जम्मा एकपटक मात्रै प्लेअफमा पुग्न सक्यो। उनको नेतृत्वमा खेलेका ३९ खेलमध्ये मुम्बईले केवल १५ खेलमा जित हात पार्यो।
रोहित शर्माले आईपीएल २०१३ को बीचमा पहिलोपटक मुम्बई इन्डियन्सको कप्तानी पाएका थिए। त्यो सिजन अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले टोलीको नेतृत्व गरिरहेका थिए। सुरुवाती ६ खेलमा ३ जित हात पारेको र आफ्नै ब्याट पनि नचलेपछि पोन्टिङले आफूलाई प्लेइङ-११ बाट बाहिर राख्ने निर्णय गर्दै कप्तानी छाडेका थिए।
त्यतिबेला मुम्बईको टोलीमा यसअघि नै कप्तानी गरिसकेका सचिन तेन्दुलकर र हरभजन सिंहजस्ता अनुभवी खेलाडी थिए। त्यसका बाबजुद टोली व्यवस्थापनले भविष्यलाई ध्यानमा राख्दै २६ वर्षीय रोहितलाई जिम्मेवारी सुम्पिएको थियो।
रोहितले २४ अप्रिल २०१३ मा कोलकाता नाइट राइडर्सविरुद्ध पहिलोपटक मुम्बईको कप्तानी गरे। टोलीले त्यही सिजन आईपीएलको उपाधि जित्यो। यो मुम्बई इन्डियन्सको पहिलो आईपीएल ट्रफी थियो।
प्रकाशित: ११ मंसिर २०८३ १८:३३ शुक्रबार



-600x400.jpg)

