११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
खेल

मध्यपुर थिमिमा पहिलोपटक खेलकुद महोत्सव आयोजना हुने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पहिलोपटक ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आगामी पुस ११ गतेदेखि महोत्सवको औपचारिक सुरुवात हुने जानकारी दिएका छन्।

नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार आयोजना हुन लागेको महोत्सवमा राष्ट्रिय, प्रदेश, उपत्यका तथा नगरस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने नगरप्रमुख श्रेष्ठले बताए। महोत्सवका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

महोत्सवमा बागमती प्रदेश अन्तरनगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल, राष्ट्रियस्तरको बुद्धिचाल, उपत्यकास्तरीय भलिबल, कराते, तेक्वान्दो, उसु, आइकेकेएफ कराते, किक बक्सिङ, टेबलटेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकर प्रतियोगिता सञ्चालन हुनेछन्।

नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवर्द्धन गर्नु हो। पर्याप्त अवसर र प्रशिक्षणको अभावमा क्षमता प्रदर्शन गर्न नपाएका खेलाडीलाई उपयुक्त मञ्च प्रदान गर्दै प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण निर्माण गर्न महोत्सवले सहयोग पुर्‍याउने उनले बताए।

खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक निर्माण, सामाजिक एकता, अनुशासन र युवा सशक्तीकरणको माध्यम बनाउने नगरपालिकाको लक्ष्य रहेको श्रेष्ठले बताए।

महोत्सवले मध्यपुर थिमिको कला, संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ। 

प्रकाशित: ११ मंसिर २०८३ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App