११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
समाज

सुकुमबासीको स्थायी समाधान कहिले ?

शुक्रबार बिहानदेखि भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित कृषि विकास तालिम केन्द्र परिसरको माहौल सामान्य दिनहरू भन्दा फरक थियो। कारण थियो, त्यहाँको होल्डिङ सेन्टरभित्र रहेका सुकुमबासीहरुलाई दिउँसो दुई बजेभित्र हटिसक्न दिएको सरकारी निर्देशन।

आफूहरूलाई हटाउन लागेको भन्दै त्यहाँभित्र रहेका दर्जनौँ सुकुमबासीहरु मुख्य गेट बाहिर बसेर आन्दोलन गरिरहेका थिए। त्यसको रिपोर्टिङका लागि त्यहाँ सयौँ सञ्चारकर्मी उपस्थिति थिए।

काठमाडौं उपत्यकाका नदी किनारमा जोखिमपूर्ण बसोबास गरिरहेको भन्दै हटाइएका सुकुमबासीलाई सुरक्षित स्थानमा सार्ने क्रममा त्यहाँ सुकुमबासी परिवार लामो समयदेखि बस्दै आएका थिए।

यसअघि तालिम केन्द्रको होल्डिङ सेन्टर (बाडे) मा आश्रय लिइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबारसम्म ठाउँ खाली गर्न निर्देशन दिएको थियो। बुधबार लिखित सूचना टाँसेको प्रशासनले बिहीबार माइकिङ गरेर पनि हट्न भनेको थियो।

बोडेमा अहिले १९ परिवारका ५९ जना सुकुमबासी बसिरहेका छन्। यसअघि त्यहाँ २३ परिवार थियो। तीमध्ये चार परिवार सेन्टर छोडेर गइसकेको जनाइएको छ।

सुकुमबासीहरू सरकारविरुद्ध बिहानैदेखि प्रदर्शनमा उत्रेका थिए । उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका थिए। सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीलाई बिहानको खाना दिन बन्द गरेपछि उनीहरू आक्रोशित भएका थिए।

रित्तो थाल बजाउँदै उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए। उनीहरूले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ भन्दै नाराबाजीसमेत गरेका थिए।

हाम्रो स्थायी समाधान नभई कसरी यहाँबाट बाहिरिने? आन्दोलनको नेतृत्व गर्दै गरेका झबरलाल उराबले पत्रकारहरुसँंग भने, ‘स्थानीय समाधान खोजिदिएको एक मिनेटमै हामी यहाँबाट सर्छौ, यहाँ बस्दैनौ।’

आफू नेपाली कम्युनिस्ट पार्टीको नेता रहेको तर पछिल्लो पटकको निर्वाचनमा बालेनको विश्वास लागेर आफूले मात्रै नभई आफूले सके जति सबैलाई नै बालेनको पार्टीलाई भोट दिन लगाएको भन्दै उनले अहिले आएर बालेन सरकारले यस्तो क्रूर काम गरेको भन्दै सरकारको विरोध गरे।

अर्का पीडित दलमर्दन कार्कीले ज्यान दिने तर यहाँबाट नहट्ने जिद्दी कसे। ‘हामी गोली थाप्न तयार छौँ तर यहाँबाट जान तयार छैनौ’, उनले पत्रकारहरुसँंग भने। त्यहाँबाट जुनै हालतमा पनि नहट्ने उनीहरूको भनाई थियो।

यस क्रममा सुकुमबासी केटाकेटी तथा बुढाबुढी बिहानको खाना नदिएको भन्दै बिलौना गरिरहेका थिए। दिउँसो २ बजेसम्म पनि खाना नदिएपछि उनीहरू पैसा उठाएर दालमोठ चिउरा किनेर सामूहिक रूपमा दालमोठ चिउरा खाएर विरोध गरे। उनीहरूको आन्दोलनका कारण प्रहरी आइपुगे पनि हस्तक्षेप भने गरेको थिएन। पछि दिउँसो प्रहरी फिर्ता भएको थियो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तत्कालका लागि उनीहरूलाई नहटाउने भएको प्रतिक्रिया दिए। ‘आजका लागि निर्धारण गरिएको हटाउने कार्यक्रम स्थगित गरेका छौँ’, उनले साँझ भने, ‘तत्कालका लागि आजलाई उहाँंहरु जो जो जानुहुन्छ, जानुहुन्छ बाँकीलाई हामी जबरजस्ती जान भन्दैनौ।’

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाउने क्रममा विस्थापित भएका सुकुमबासी परिवारलाई बोडेस्थित होल्डिङ सेन्टरमा राखिएको थियो। सरकारले तोकेको समयसीमा नजिकिँदै गर्दा उनीहरूले आफ्नो बसोबासको व्यवस्था सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए।

भक्तपुरमा अहिले दुई स्थानमा गरी ५१ परिवारका १३७ जना बसिरहेका छन् । बोडेमा १९ परिवारका ५९ जना र खरिपाटीमा ३२ परिवारका ७८ जना छन्।

प्रशासनले पहिलो चरणमा बोडेमा रहेका परिवारलाई हटाउन प्रयास थालेको थियो। तर सरकारले जनाएको प्रतिबद्धता अनुसार बस्ने ठाउँको टुंगो नै नलगाई होल्डिङ सेन्टरबाट समेत हटाउन नपाउने भन्दै बोडेका सुकुमबासी आन्दोलनमा उत्रेका थिए।

स्थायी बसोबासको व्यवस्था नगरी अस्थायी रूपमा राखिएका स्थानबाट पनि हट्न निर्देशन दिइएको तर, आफूहरूलाई पठाउन खोजिएको सम्बन्धित जिल्लामा समेत जग्गा नछुट्याइएको उनीहरूको भनाई थियो।

बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएकी पुनदेवी पासवानले प्रशासनले निरन्तर हट्न निर्देशन दिए पनि आफूहरू जाने ठाउँ नभएको बताइन्। ‘प्रशासनले यहाँबाट हट भनेको छ, तर हाम्रो कहीँ जग्गा छैन, बालबच्चा साना छन्, कहाँ जाने ?’, उनले प्रश्न गरिन्।

आफ्नो बालबच्चासहित दस जनाको परिवार रहेको उनले जनाइन्। उनले जे भए पनि आफूहरूलाई बास चाहिएको र बासको टुंगो नभई यो ठाउँ नछाड्ने बताइन्।

सरकारले गत १२ वैशाखदेखि काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाउने अभियान सुरु गरेको थियो। चार दिनमा १९ वटा बस्तीबाट दुई हजार ६०८ परिवार हटाइएको थियो । त्यसबाट करिब १५ हजार मानिस विस्थापित भएका थिए।

त्यसअघि ११ वैशाखको राति प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत अतिक्रमणकारी र वास्तविक सुकुमबासी छुट्याएर वास्तविक भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने प्रतिबद्धता जनाएका थिए।

उनले देशभरका लाखौँ सुकुमबासीको समस्या र काठमाडौंका नदीकिनारको समस्या फरक रहेको उल्लेख गर्दै प्रक्रिया पूरा गरेर देशभरका वास्तविक सुकुमबासीलाई यथाशीघ्र जग्गा वितरण गर्ने दाबी गरेका थिए।

वर्षौँदेखिको समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने भन्दै वास्तविक पीडितले न्याय पाउनेमा ढुक्क हुनसमेत आग्रह गरेका थिए । तर, नदीकिनारबाट हटाइएका परिवारको स्थायी बसोबास र जग्गा वितरणको प्रक्रिया अहिलेसम्म टुंगिएको छैन।

नदी अतिक्रमण र असुरक्षित बसोबास हटाउने भन्दै सरकारले थापाथली, गैरीगाउँ, बल्खु, वंशीघाट, बालाजु, शंखमूल, अनामनगर, कपन, शान्तिनगर र मनोहरालगायत क्षेत्रका बस्ती खाली गराएको थियो।

हटाइएकामध्ये ३८८ परिवारलाई भक्तपुरको बोडे, खरिपाटी, नगरकोट, बनेपा, कीर्तिपुर र इचंगुनारायणलगायत स्थानका अस्थायी होल्डिङ सेन्टर तथा होटेलमा राखिएको थियो।

तत्कालीन राहतस्वरूप सरकारले प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ दिएको थियो। त्यसपछि होल्डिङ सेन्टर छाड्दा तीन महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने निर्णय गरेको थियो।

अहिले पनि होल्डिङ सेन्टर छाड्ने परिवारलाई सोही निर्णयअनुसार मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था छ। तर, यो रकमले अस्थायी रूपमा केही समयको आवास खर्च जुटाउनेबाहेक स्थायी बसोबासको समस्या समाधान नगर्ने पीडितको भनाई छ।

सरकारले यसअघि कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा बस्दै आएका सुकुमबासीलाई पनि हटाइएको थियो। त्यहाँबाट हटाइएकामध्ये कतिपय बोडे र खरिपाटी पुगेका थिए। अहिले त्यहाँबाट समेत हटाउन थालिएपछि उनीहरूको बसोबास थप अनिश्चित बनेको छ।

सरकारले नदीकिनारबाट दुई हजार ६०८ परिवार हटाइएको थियो। तीमध्ये ३८८ परिवार होल्डिङ सेन्टरमा राखिएको थियो। हटाइएका दुई हजार ६०८ मध्ये कति वास्तविक सुकुमबासी हुन्, कति होइनन् भनेर यकिन तथ्यांक सरकारसँग छैन।

प्रकाशित: ११ मंसिर २०८३ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App