नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा आफ्नो पार्टीको परिणाम सुधारिने दाबी गरेका छन्।
प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहका निर्वाचनमा फागुन २१ को जस्तो परिणाम नदोहोरिने दाबी गरेका हुन्।
भर्चुअल माध्यमबाट भएको प्रचारले जनतालाई नयाँप्रति आशा जगाउँदा फागुन २१ को परिणाम आएको उनले बताए। तर अहिले जनता आफै जनमत रिभ्यू गर्ने सोचमा रहेको दाबी गर्दै उनले भने,‘६–७ महिनाको यो बिचमा प्रत्यक्ष अनुभूति गर्न पाएपछि जनता आफै रिभ्यू गर्ने मनस्थितिमा पुगेका छन्। अबको स्थानीय तहको निर्वाचनमा विगतको जस्तो अवस्था रहँदैन। हामी त्यसलाई सुधार गर्न सक्दछौँ।’
महासचिव पोखरेलले सामाजिक सञ्जालमा देखिने सरकार व्यवहारमा भने नदेखिएको टिप्पणी गरे। सरकार सामाजिक सञ्जालमा मात्र देखिएको बताउँदै उनले भने,‘सञ्जालमा त देखिन्छ तर सरकारको कामकारबाही र व्यवहारमा देखिएको छैन।’
सरकार चलाएको एक सय दिनमा जनताको जीवनमा आमूल परिवर्तन गर्ने घोषणा गरेको बालेन सरकारले अहिले ७ महिना बित्दासमेत माखो मार्न नसकेको उनले बताए।
महासचिव पोखरेलले कांग्रेसको जस्तो रूपान्तरण एमालेलाई नचाहिएको बताए। कांग्रेसमा प्रयोग भएको रूपान्तरणको विधिले समाधान पनि नदिएको र पार्टी एकताबद्ध पनि नगरेको बताउँदै उनले अगाडि भने,‘रूपान्तरण पनि हुने र एक ढिक्का पनि हुन एमालेले चाहेको छ। त्यसका लागि समय लिन सक्छ। त्यसलाई अन्यथा लिनु हुँदैन।’
उनले एमालेमा पार्टी हस्तान्तरणको समस्या नभएको जिकिर गरे। बरु गत निर्वाचनमा इतिहासमै नबेहोरेको पराजय बेहोर्नुपरेपछि त्यसको समीक्षा गरिएको बताउँदै त्यही समीक्षामा गरिएको निर्णयका आधारमा पार्टी अगाडि बढिरहेको उनले बताए।
उनले महासचिवले सञ्चालन गर्ने कार्यक्रम अध्यक्ष आफैले केही समय गरे पनि पछिल्लो पटकको बैठकपछि वातावरण सहज भइसकेको दाबी गरे। ‘अध्यक्षले मेरो राजीनामा माग्नुभयो भन्ने कुरा बजार हल्ला मात्र हुन्’,उनले भने,‘राजीनामा माग्नु भएको मलाई त थाहा छैन, खै कसरी हो हल्ला चलेको।’
महासचिव पोखरेलले आगामी निर्वाचनमा बिचार मिल्नेसँग चुनावी तालमेल हुनसक्ने बताए। अघिल्ला चुनावहरूमा पनि स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने नीति एमालेले लिएको र आगामी निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिइने उनको भनाई थियो।
‘संविधान र लोकतन्त्रको रक्षाको प्रश्नमा संविधानका पक्षधर शक्तिसँग मिलेर काम गर्ने पक्षमा एमाले रहेको छ’,उनले थपे,‘चुनावको सन्दर्भमा चाहिँ बिचार मिल्नेहरूसँग तालमेल गर्न सकिन्छ भन्ने पक्षमा छौँ।’ यद्यपि को सँग र कसरी मिल्ने भन्ने विषयमा भने छलफल भई नसकेको उनले प्रस्ट्याए।
महासचिव पोखरेलले बालेन सरकारले स्वेच्छाचारी शासन गर्न खोजेको आरोप लगाए। कर्मचारी प्रशासनलाई त्रस्त बनाउनदेखि प्रहरी संरचना भत्काउने र न्यायाधीशहरुलाई नै नियन्त्रण गर्नेसम्मका कार्य भइरहेको उनको दाबी छ।
ईनम प्रकरणले न्यायाधीशलाई कन्ट्रोभर्सीमा पार्ने षडयन्त्रलाई उदांगो पारेको बताउँदै उनले भने,‘कार्यकारीले सबै अंगलाई नियन्त्रणमा राखेर स्वेच्छाचारी शासन गर्न खोज्ने हर्कतका रुपमा इनम सापकोटा प्रकरणलाई हेर्नुपर्छ। ईनम प्रधानमन्त्रीका मान्छे थिए। प्रधानमन्त्रीका मान्छेले षडयन्त्रमूलक तरिकाले ट्र्यापमा पारेर न्यायाधीशहरुलाई नियन्त्रण गर्ने योजनासहित गरिएको हो। यो शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ भन्ने बुझ्नु पर्छ। अदालतलाई ईनम सापकोटाको नाममा कन्ट्रोभर्सीमा पार्दिने प्रयास हो यो।’
महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा सरोकारका दृष्टिले उपलब्धिविहीन बनेको टिप्पणी गरे। ‘आफू मेयर हुँदा काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो’, उनले भने,‘तर भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवादबारे एक शब्द पनि उच्चारण गर्नुभएन। यसले हामी सबैलाई लज्जित बनाएको छ।’
उनले नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि गठन गरिएको प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने विषयसमेत नउठाउनु गलत भएको टिप्पणी गरे।
प्रकाशित: ११ मंसिर २०८३ १८:३३ शुक्रबार



-600x400.jpg)

