अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकले सम्मान गरेको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकामा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सन्जितकुमार राईले जनाएका छन्।
सरिनालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले एनुएल समर गेट टुगेडर कार्यक्रममा प्रशंसापत्रसहित सम्मान गरेका हुन्। सरिनाले युकेमा भएको २ प्रतियोगितामा स्वर्ण जितेकी थिइन्।
सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन्। यसअघि सरिनालाई सोही सफलताको कदर गर्दै तमु धि समाज युके र मगर एसोसिएसन युकेले पनि सम्मान गरेको थियो।
नुवाकोट किस्पाङ गाउँपालिका १ की सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन्। तेस्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राईले जानकारी गराए।
प्रकाशित: ५ श्रावण २०८२ ०६:३८ सोमबार





