२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ को आठ प्रतियोगितामध्ये सूर्य नेपाल सेन्ट्रल ओपन पहिलो प्रतिस्पर्धा हो। सिजनको पहिलो प्रतियोगितामा राहुलले चार दिन नै अग्रता लिँदै उपाधि रक्षा गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रोफेसनल गल्फर जयराम श्रेष्ठमाथि १४ स्ट्रोकको अग्रतासहित करियरको तेस्रो उपाधि उचाले।

राहुलले अन्तिम दिन चार अन्डर ६८ को कार्डमा खेले। जुन उपाधि जित्नका लागि पर्याप्त बन्यो। जयरामले पाँच ओभर ७७ को खराब प्रदर्शन गरेपछि राहुलका लागि सहज भयो। समग्रमा राहुल १४ अन्डर २७४ मा रहे भने जयरामले कुलमा इभन पार २८८ को कार्ड बटुले। राहुल एमेच्योर र प्रो. दुवै तर्फको ट्रफी प्राप्त गर्न सफल भए।

दोस्रो भए पनि जयरामले च्याम्पियनको पुरस्कारबापत एक लाख ७० हजार रुपैयाँ प्राप्त गरे। राहुलले पाँच स्ट्रोकको अग्रतासहित अन्तिम दिनको सुरुआत गरेका थिए। तर, अन्तिम दिनको १८ होलमा जयरामसहित कुनै पनि खेलाडीले राहुललाई चुनौती दिन सकेनन्। फ्रन्ट नाइनमा नै राहुल उपाधिनजिक थिए। यस क्रममा उनले तीन अन्डर ३३ प्रदर्शन गरे।

ब्याक नाइन भने उनले एक अन्डर ३५ मा पूरा गरे। प्रोफेसनलतर्पm च्याम्पियन जयरामले फ्रन्ट नाइन इभन–पार ३६ मा पूरा गरे। तर, ब्याक नाइनमा भने उनले बिर्सनलायक प्रदर्शन गरे। यस क्रममा उनले दसौं र १२औं होलका १४ देखि १६ सम्म लगातार गरी कुल ५ बोगी खेपे। यो खराब प्रदर्शनमा ब्याक नाइन पाँच ओभर ४१ मा सकाए।

यससँगै ट्रफी जित्न राहुलका लागि सहज बनेको हो। दुई गल्फर तोरणविक्रम शाही र भुवन नगरकोटी संयुक्त रूपमा तेस्रो स्थानमा रहे। दुवैले समग्रमा दुई ओभर २ सय ९० को स्कोरको कार्ड बटुले। भुवनले चार अन्डर ६८ मा रहेर चौथो दिनको खेल सकाएपछि तेस्रो स्थान प्राप्त गरेका हुन्।

तोरणले इभन पार ७२ मा रहे। यी दुवैले एक लाख १२ हजार पाँच सय रुपैयाँ पाए। नेपाल नम्बर एक प्रोफेसनल नीरज तामाङको प्रदर्शन सन्तोषजनक रहेन। उनी पाँचौं स्थानमा सीमित भए र ८२ हजार रुपैयाँ पाए। नीरज समग्रमा तीन ओभर २९१ को स्कोरमा रहे। अन्तिम दिन तीन अन्डर ६९ मा खेल सकाएपछि नीरजले सुधार गरेका हुन्।

चार खेलाडी भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्त रूपमा छैटौं भए। सबैले समान ६५ हजार रुपैयाँ पाए। यी चारैले समग्रमा चार ओभर २९२ को स्कोर बटुले।

एमेच्योरतर्फ रुबेन दोस्रो र साम डोब्लार्ड तेस्रो भए। साम समग्रमा दसौं स्थानमा रहे। कुल ७२ होलको यस प्रतियोगितामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ गल्फरले प्रतिस्पर्धा गरेका थिए। कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे। विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरेका थिए।  

प्रकाशित: १८ पुस २०८२ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App